
पोखरा स्पोर्टस । मर्मत सम्भारमा १ करोड भन्दा बढि खर्च भएकोे स्याङजाको वालिङ नगरपालिकास्थित खेल मैदानमा कुनै पनि मेला/महोत्सव आयोजना गर्न नहुने भन्दै प्रदेश खेलकुद परिषद गण्डकीले जिल्ला प्रशासन कार्यालय स्याङजा र वालिङ नगरपालिकालाई ध्यनाकषर्ण गर्दै पत्रचार गरेको छ ।
वालिङ उद्योग वाणिज्य संघले आगामी माघ १८ देखि २८ गते सम्म वालिङ खेल मैदानमा महोत्सव आयोजना गर्ने घोषणा संगै परिषदले खेल मैदान जोगाउन पत्रचार गरेको हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ अन्तर्गत महिला फुटबल आयोजना सम्पन्न भएको उक्त खेल मैदान मर्मतका लागि राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद, वालिङ नगर पालिका र स्याङजाका विभिन्न पालिकाहरुको सहयोगमा करिव १ करोड खर्च भएको थियो । मैदानलाई हरियाली बनाउन दुवो समेत रोपेर नवौं राष्ट्रिय खेलकुद सफलताका साथ सम्पन्न भएको थियो ।

परिषदका सदस्य सचिव श्रीधर शर्मा द्वारा जिल्ला प्रशासन र नगरपालिकालाई लेखिएको पत्रमा भनिएको छ–“प्रदेश खेलकुद विकास ऐन २०७७ को दफा ९(ज) र प्रदेश खेलकुद विकास नियमावली २०७८ को नियम १२ (च) बमोजिम पूर्वाधारको निर्माण, व्यवस्थापन तथा मर्मत गर्ने गराउने काम, कर्तव्य र अधिकार क्रमश यस परिषद तथा जिल्ला खेलकुद विकास समितिलाई तोकेको हुनाले महोत्सवका कारण खेल मैदानमा हुन सक्ने क्षती र मर्मत सम्भारको यकिन र जिल्ला खेलकुद विकास समितिको अनुमती/सहमती नहुँदा सम्म मेला/महोत्सवको अनुमती नदिई सार्वजनिक सम्पतीको संरक्षणका लागि अनुरोध छ ।”
नवौै राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नै खेल मैदान मर्मत सम्भार गर्दा दुवो वापतको करिव रु १२ लाख व्यवसायीहरुले अझै सम्म पाउन सकेका छैनन भने आवास तथा साउण्ड सिस्टेम गरी करिव ४ लाख ५० हजार प्राप्त हुन नसकेको जनाइएको छ । राखेपले दुवो वापतको रकम १० लाख वालिङ नगर पालिकामा भुक्तानीका लागि पठाए पनि पालिकाले उक्त रकम व्यवसायीहरुलाई भुक्तान नगरेको गुनासो व्यवसायीको छ ।
गण्डकी प्रदेश सरकार र संघिय सरकारले खेल मैदानमा प्याराफिट निर्माणका लागि संयुक्त रुपमा २५ लाख खर्च गरेका छन् । त्यसै गरी खेल मैदान परिसरमा नै बास्केटबल र भलिबल कोर्ट समेत रहेको छ । वालिङ खेल मैदान गण्डकी प्रदेशमा नै महिला फुटबल उत्पादन हुने थलोको रुपमा समेत परिचित छ ।
यता वालिङ कै केही यूवाहरुले करौडौ खर्च गरेर निर्माण गरिएको खेल मैदान मेला/महोत्सवका नाममा विर्गान नहुने भन्दै विरोधमा उत्रिएका छन् । ‘स्मार्ट वालिङ’ सामाजिक सञ्जालको पेजमा भनिएको छ–“जनता बाट उठेको करलाई खेल मैदान निर्माणमा लगाउने अनि फेरि केहि सिमित संस्थाहरुको फाइदाका लागि त्यो लगानी लाई हिनामिना गर्ने यस्तो त अब कदापि हुन दिने छैनौ ।”
वालिङ नगर पालिका कार्यालय घेराउ गरी विरोध जनाउन आह्वान गर्दै भनिएको छ–“मेला/महोत्सव र सभाका लागि वालिङ नगरपालिका भित्र पर्ने धेरै मैदान खालि छन् । त्यस ठाउँमा तपाईंहरुको मेला महोत्सव गर्नुस । करोडौँ लगानी बिछाएको मैदानमा होईन ।” सामाजिक सञ्जालमा लेखिएको छ–“ हामि मेला महोत्सव विरोधी होईनौ । हामि सरकारी वजेट बिछाएर हिनामिना गर्ने हरुको विरोधी हौं । लगभग एक करोड बिछाएको खेल मैदान संरक्षण गर्नु हाम्रो दायित्व हो ।”
