
पोखरा स्पोर्ट्स । खेलकुद र सामाजिक क्षेत्रमा कृयाशिल टाइगर ग्रुप अफ पोखरा नेपालले सोमबार एक कार्यक्रमका बीच श्री सिद्ध बराह गुरूकुल विद्याश्रममा अध्ययनरत बटुक (विद्यार्थी)हरुलाई न्यानो लुगा वितरण गरेको छ ।
कास्की पोखरा महानगर पालिका वडा नं २३ माथुम ठुलाखेतमा अवस्थित सो विद्याश्रममा पुगेर विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरेको टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका हुन् ।

स्वामी विवेकानन्द गुरूद्वारा सञ्चालित सो विद्याश्रममा अध्ययनरत १६ जना बटुकहरु लाई सो अवसरमा एक बिहानको भोजन अपर्ण गर्नुका साथै करिव ३० हजार बराबरको न्यानो लुगा प्रदान गरिएको अध्यक्ष शर्माले जानकारी दिए ।
सो अवसरमा अध्यक्ष शर्माले विद्याश्रममा अध्ययनरत बटुकहरुलाई उज्जवल भविष्यको शुभकामना समेत दिएका थिए भने विद्याश्रमका गुरू स्वामी विवेकानन्दले संस्थाले गरेको कार्यको प्रशंसा गर्दै छैटौं टाइगर कप भलिबल प्रतियोगिताको सफलताको शुभकामना एवं आर्शिवचन दिएका थिए ।
आफ्नो संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य एवं संस्थाका महासचिब प्रकाश बराल, बरिष्ठ लोक गायक प्रजापती पराजुली, खगेन्द्र पराजुली, कोषाध्यक्ष हरि श्रेष्ठ, छैटौं संस्करण टाइगर कप भलिबलका संयोजक राजकुमार गुरूङ, संस्थाका सदस्य गोविन्द थापा लगायतको सहभागिता रहेको थियो ।
‘छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता यहि माघ ९ देखि १७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने संस्थाले यस अघि नै घोषणा गरिसकेको छ ।
छैटौं टाइगर कप सम्पन्न गर्न अध्यक्ष शर्माको अध्यक्षतामा १०७ सदस्यिय मुलआयोजक समिति गठन गर्नुका साथै विभिन्न १४ उपसमिति गठन गरी प्रतियोगिता सफल बनाउने अभियानमा समेत संस्था अघि बढेको छ ।
