नेपाल हवाई खेलकुद संस्था (ना) २० औं वर्षमा, प्याराग्लाइडिङ उडान अब तोरीपानीबाट, सोलो उडान अनुमती अन्तिम चरणमा

पोखरा स्पोर्टस । नेपाली सहशिक खेलकुद प्याराग्लाइडिङको व्यवसायिक छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) २० औं वर्षमा प्रवेश गरेको छ । नाको २० औं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा पोखराको प्याराग्लाइडिङलाई थपा व्यवस्थित बनाउन नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले महत्वपूर्ण भूमिका खेलेको भन्दै सम्मान गरिएको छ ।

नेपालको सहाशिक खेलकुदमा महत्वपूर्ण रुपमा स्थापित पोखराको प्याराग्लाइडिङ व्यवस्थित संगै थप सहज हुने भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भए संगै पोखराको सराङकोट र तोरीपानीबाट विस्थापित गर्दै पोखरा २४ मान्द्रेढुङ्गा पुगेको प्याराग्लाइडिङ उडान अब भने थप केही सहज हुने भएको हो ।

हवाई क्षेत्र संग जोडिएको प्याराग्लाइडिङको नियमक संस्था नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले लामो प्राविधक अध्ययन पछि तोरीपानी सम्म उडानलाई क्षेत्र विस्तार गर्न सहमत भएको छ । यो संगै अव उडान भर्न जाँदाको ६ किमि दुरी समेत घटेको छ भने नवौं राष्ट्रिय खेलकुदमा भएको दुर्घटनाका कारण स्थगित सोलो (एकल) उडान अनुमतीको विषयमा क्यानले आफ्नो अध्ययनलाई अन्तिम चरणमा पु¥याएको नाका अध्यक्ष सुनिल बहादुर भट्टराईले जनाएका छन् ।

“यो हाम्रो लागि महत्वपूण विषय थियो । हामीले क्षेत्र विस्तारको विषयलाई लिएर क्यान संग धेरै पटक छलफल चलायौं । क्यानको सहकार्यमा धेरै अध्ययन समेत भयो । ना र क्यानले नेपालको प्याराग्लाइडिङलाई सुरक्षित गन्तव्यको रुपमा स्थापित गर्न हामीले धेरै प्राविधिक लगायतका विषयमा अध्ययन गरेका छौं । त्यसैले पनि अब केही सहजता आएको छ”–अध्यक्ष भट्टराइले भने ।

क्यानको सहकार्यले गर्दानै पोखराको प्याराग्लाइडिङ सुरक्षित छ भन्ने विषयले प्राथमिकता पाएको हुनाले क्यानलाई २० औं साधारण सभाको अवसरमा सम्मान गरेको अध्यक्ष भट्टराइले बताए । उनले सुरक्षित उडानका लागि प्रविधिमैत्री उडानलाई विशेष रुपमा जोड दिएको समेत बताउँदै भने–“हामीले धेरै कुरालाई अङ्गिकार गरेका कारण करिव–करिव विस्थापित हुन लागेको प्याराग्लाइडिङले नयाँ उर्जाका साथ अघि बढेको छ । यसमा सहकार्य गर्ने सबै प्रति आभार व्यक्त गर्न चाहन्छु ।”

नाको २० औं साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले समेत नेपालको समृद्धिमा महत्वपूर्ण रहेको सहाशिक खेलकुद प्याराग्लाइडिङलाई थप व्ववस्थित बनाउँदै लैजाने विषयमा जोड दिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका क्यानका निर्देशक राजु श्रेष्ठले २० वर्ष पछि आज प्याराग्लाइडिङ सार्थक दिनको रुपमा उभिएको बताए । फ्लाइट सेफ्टी विभागका प्रमुख समेत रहेका श्रेष्ठले पोखरालाई ताल र हिमालको मात्रै परिचय दिएको नभै त्यसमा प्याराग्लाइडिङ समेत थपिएको बताए । पोखरा आउने ५० देखि ६० प्रतिशत पर्यटकहरु सहाशिक पर्यटनका लागि आउने उल्लेख गर्दै भने–“सुरक्षित उडानका लागि नियमित रुपमा अनुगमन गर्दै प्याराग्लाइडिङमा रहेका हरेक समस्याहरु फुकाउन क्यान तयार छ ।”

सो अवसरमा बोल्दै पोखरा पर्यटन परिषदका अध्यक्ष पोम नारायण श्रेष्ठले पर्यटनको अभिन्न अङ्गको रुपमा रहेको प्याराग्लाइडिङ थप व्यस्थित बनाउन जोड दिंदै मुलुकको समृद्धिको यात्रा समेत प्याराग्लाइडिङ क्षेत्रले खेलेको भूमिका कोशे ढुङ्गाको रुपमा रहेको बताए ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, पोखरा महानगर पालिका वडा नं ६ का अध्यक्ष विष्णु बहादुर भट्टराई, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, नाका निवर्तमान अध्यक्ष कृष्ण भण्डारी लगायतले आफ्ना भनाई राख्दै नेपाल संगै पोखराको पर्यटनमा महत्वपूर्ण कडिको रुपमा रहेको प्याराग्लाइडिङ बिनाको पोखरा कल्पना समेत गर्न नसकिने बताए ।

दोश्रो साधारण सभाको अवसरमा संस्थाका महासचिव खेमराज आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ का लागि विभिन्न २२ वटा कार्यक्रमहरु अघि सारेका छन् ।

२० वर्ष अघि स्थापना भएको नेपाल हवाई खेलकुद संस्था (ना) मा ६२ वटा व्यवसायिक कम्पनीहरु रहेका छन् भने सो अन्तर्गत ३९९ जना प्याराग्लाइडिङ पाइलटहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close