
पोखरा स्पोर्टस । चिनमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनमा नेपालका नं १ प्रिन्स दाहाल पराजित भएका छन् ।
बिन्जियाङ जिम्न्याजियममा भएको सिंगल्सतर्फको स्पर्धामा उनी जापानका केन्टा निसीमोटा संग सोझो सेटमा पराजित भएका हुन् । जापानका निसीमोटोले नेपालका प्रिन्सलाई २१–१२ र २१–७ ले पराजित गरे ।
सोहीस्पर्धामा थाइल्यान्डका कान्ताफोन वाङचारियोनले नेपालका सुनिल जोशीलाई २१–७ र २१–९ को सोझो सेटमा पाखा लगाएका छन् ।
तर यता मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा विजयी भयो ।
मिक्स डबल्समा नेपालका विष्णु कटुवाल र नङशल तामाङको जोडीले मंगोलियाका जोल्जाया मुख्बटार र खेर्लेन दरखान्बटारको जोडीलाई २१–१६ र २१–१७ को सोझो सेटमा पराजित गरे ।
अर्को मिक्स डबल्समा भने सिंगापुरका तेरी काइ यङ हि र हान वेइ जेशिका तानको जोडीले नेपालका जीवन आचार्य र निता लम्सालको जोडीमाथि २१–४ र २१–३ को सहज जित दर्ता गरे ।
पुरुष डबल्समा नेपालका जीवन आचार्य र विष्णु कटुवालको जोडीले माल्दिभ्सका निबल अहमद र अज्फान मोहम्मद रसिदको जोडीलाई सीधा सेटमा २१–१७ र २१–१८ ले हराए ।
सोही स्पर्धामा थाइल्यान्डका पिरात्चाई सुक्फुन र पाकापोन तिरारत्सकुलको जोडीले नेपालका प्रिन्स दाहाल र सुनिल जोशीको जोडीलाई २१–८ र २१–५ ले पन्छाए ।