
पोखरा स्पोर्टस । गोरखा जिल्लास्थित पालुङटार नगरपालिकामा ऐतिहासिक लिगलिग कोट दौड आयोजना हुने भएको छ ।
लिगलिग कोट बिकास अभियानको आयोजनामा यहि कार्तिक १ गते उक्त प्रतियोगिता हुन लागेको हो । विश्वमा फैलिएको कोभिड महामारीको तिन वर्ष पछि प्रतियोगिताले निरन्तरता पाउने भएको हो । गोरखामा दौडेर राजा हुने परम्परालाई विगत २०६७ साल देखि दौड प्रतियोगिताको रुपमा सञ्चालन गर्दै आइरहेको अभियानका अध्यक्ष संजिव रानाले जानकारी दिएका छन् ।
विसं १६१६ मा द्रव्य शाहले लिगलिग कोट जितेर राजा भए संगै “लिगलिगे दौड” को अन्त्य भएको थियो । गोरखाको चेपे दोभानबाट लिगलिग कोट सम्म दौडेर जित्ने व्यक्ति एक वर्षका लागि राजाको रुपमा मान्ने परम्परा रहि आएको थियो । यो परम्परा अन्तर्गत अन्तिम मगर राजा दलसुर मगर रहेका थिए ।
गोरखाको चेपे दोभानबाट लिगलिग कोट सम्म हुने दौड प्रतियोगितामा तिन छुट्टा–छुट्टै इभेन्टहरु हुनेछन् । १३.८ किमि दौडको प्रकार भने ट्रेल रेसमा आधारित छ ।
प्रतियोगितामा खुल्ला पुरुष, स्थानिय पुरुष खुल्ला र ३ किमि विद्यालयस्तरिय दौड समावेश गरिएको छ । स्थानियतर्फ साबिक आँपपिपल, पालुङटार, खोप्लाङ, छोप्राक र हर्मी गा.वि.सका स्थायी बसोबास भएका पुरुष खेलाडीले मात्र सहभागी हुन पाउने छन् ।
प्रतियोगितामा खुल्ला पुरुषतर्फको उपाधि विजेतालाई नगद रु १ लाख, दोश्रोले नगद रु ५० हजार, तेश्रो हुनेले नगद रु २५ हजार, चौथो र पाँचौले क्रमश नगद रु १५ र १० हजार प्रात गर्नेछन् ।
त्यसै गरि स्थानिय पुरुष खुल्लातर्फ प्रथम, द्वितिय, तृतिय, चौथो र पाचौले क्रमश नगद रु २०, १५, १०, ५ र ३ हजारका साथमा मेडल, तथा प्रमाणपत्र प्राप्त गर्ने संयोजक रानाले जानकारी दिएका छन् ।
विद्यालयतर्फ १८ वर्ष मुनीको दौडमा प्रथम, द्वितिय, तृतिय, चौथो र पाँचौ हुनेले क्रमश नगद रु १५, १०, ७, ५ र ३ हजारका साथमा मेडल, तथा प्रमाणपत्र वितरण गरिनेछ ।
लिगलिग कोट दौड सम्पन्न गर्न नगद रु १५ लाख खर्च हुने जानकारी दिंदै आयोजकले अन्तिम दर्ता मिति असोज २५ गते सम्म रहेको जनाएको छ ।