एसियाली खेलकुद : प्रायः सबै खेलमा नेपालको चुनौती समाप्त

पोखरा स्पोर्टस । चिनको हाङझावमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत प्राय जसो खेलहरुमा नेपालको चुनौती समाप्त भएको छ ।

२९ खेलका अधिकांश खेलमा नेपालको प्रदर्शन फितलो छ । खेलाडी भन्दा ठूलो संख्यामा रहेको नेपाली अफिसियल टोली चिनको हाङझावमा घुम्न व्यस्त रहेकै बेला खेलाडीहरुको प्रदर्शन भने अपेक्षा अनुसार हुन सकेको छैन । नेपाली अफिसियल टोली स्वदेश फकर्ने वित्तिकै आलोचनाको शिकार बन्ने पक्का जस्तै देखिएको छ ।

यसका साथै एसियाली खेलकुदका लागि गठित हाइ प्रर्फमेन्स समितिको समेत उत्तिकै आलोचना बढ्दै गएको छ ।

पौडी 
हाङझाव एसियाडको पौडीमा बुधबार प्रतिस्पर्धा गरेका नेपालका डुवाना लामा र नासिर याहा हुसैन हिट चरणबाटै बाहिरिएका छन् ।

महिला एक सय मिटर ब्रेस्टस्ट्रोकमा पहिलो हिटमा प्रतिस्पर्धा गरेकी डुवाना सातौं स्थानमा रहिन् । उनले निर्धारित दूरी तय गर्न १ मिनेट २०.१५ सेकेन्ड समय लाइन् । ७ खेलाडीले प्रतिस्पर्धा थिए । डुवाना यसअघि महिला दुई सय मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाटै बाहिरिएकी थिइन् ।

पुरुष २ सय मिटर फ्रिस्टाइल स्पर्धामा दोश्रो हिटमा प्रतिस्पर्धा गरेका नासिरले निर्धारित दूरी २ मिनेट ००.१४ सेकेन्डमा पार गरे । ८ खेलाडी सहभागी यस स्पर्धाको हिटमा उनी सातौं भए ।

बक्सिङ : सुष्मा र भुपेन्द्र पराजित
हाङझाव एसियाडमा पदकको आशा गरिएकी नेपालकी सुष्मा तामाङ बुधबार पहिलो चरणमा पराजित भइन् ।

महिला ५० केजीको अन्तिम १६ को भिडन्तमा सुष्मा कजाखस्थानकी नाजम काइजाईसंग ५–० ले चुकिन् । गत वर्ष यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेकी सुष्माले विश्व च्याम्पियनसिप समेत खेलेको अनुभव छ ।

पुरुष ६३.५ केजीमा १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्णधारी भुपेन्द्र थापा एन चु लाईसँग ४–० ले पराजित भए । पहिलो चरणमा बाई पाएर भूपेन्द्र सोझै प्रिक्वाटरफाइनलमा प्रवेश गरेका थिए ।

महिला बास्केटबल : नेपालको लगातार दोस्रो हार
महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले लगातार दोस्रो खेलमा पराजित भएको । समूह ‘बी’ को लिग खेलमा नेपाल कजाखस्थानसँग १७–१० ले हार्‍यो ।

कजाखस्थान विरुद्ध नेपालका लागि कप्तान श्रेया खड्का र मिना गुरुङले समान ४–४ अंक जोडे । नेपालको स्कोरबार्डमा गरिसा सिलवाल र रिन्छेन मोक्तानले समान १–१ अंक थपे ।

समूह चरणको पहिलो खेलमा जापानले नेपाललाई २२–४ ले हराएको थियो । नेपालले समूहको अन्तिम खेलमा शुक्रबार चाइनिज ताइपेईको सामना गर्नेछ ।

जुडो : नेपालको चुनौती समाप्त
जुडोमा नेपालको चुनौती बुधबार समाप्त भएको छ । मिक्स टिम इभेन्टमा पनि पराजय व्यहोरेसंगै नेपालको चुनौती समाप्त भएको हो । व्यक्तिगत स्पर्धामा नेपालको चुनौती मंगलबार सकिएको थियो । पराजित भएको छ ।

जिओशान लिन्पु जिम्नयासियममा बुधबार भएको मिक्स टिम इभेन्टको क्वाटरफाइनलमा नेपाल जापानसँग ४–० ले पराजित भयो ।

टिम इभेन्टमा प्रतिस्पर्धा गरेका नेपालका जंगबहादुर सारु जापानका गोकी ताजिमासँग पराजित भए । यस्तै आकृति जोशी रुरी ताकाहासीसँग, रन्जेश गोले ह्योगा ओतासँग र मनिता श्रेष्ठ प्रधान मोमो तामाओकीसँग सहजै पराजित भए ।

यस्तै मिक्स टिमको पराजित टिमहरुबीच हुने रिपेच फाइनल कन्टेस्टमा पनि नेपाल कजाखस्तानसँग ४–० ले नै पछि प¥यो ।

ह्यान्डबल : नेपाल जापानसँग पराजित
महिला ह्यान्डबलमा नेपाल बुधबार जापानसँग पराजित भएको छ । समूह बी अन्तर्गत जेजियाङ नर्मल युनिभर्सिटी जिओशान जिम्न्यासियममा भएको खेलमा नेपाल जापानसँग ६२–१० ले पराजित भयो ।

पहिलो हाफमा ६ गोल गरेको नेपालले दोश्रो हाफमा ४ गोल गरेको थियो । समूह चरणको पहिलो खेलमा नेपाल आयोजक चीनसंग ५७–१० ले पराजित भएको थियो । एसियाडको महिला ह्यान्डबलमा नेपालको यो पहिलो सहभागिता हो ।

तेक्वान्दो 
तेक्वान्दोमा नेपालबाट ११ खेलाडी सहभागी भएकोमा बुधबारसम्म १० खेलाडीको चुनौती सकिसकेको छ । बुधबार ३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

नेपालका अभिषेक बराल पुरुष ८० केजीको अन्तिम ३२ मा अफ्गानिस्तानका ओमिद साहाकसँग २–० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११–१ र दोस्रो चरणमा १५–२ ले पछि परे ।

पुरुष ६८ केजीमुनि वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २–० ले नै पराजित भए । पहिलो चरणमा १०–० ले पछि परेका वीरले दोस्रो चरणमा केही सुधार गरेपनि १२–८ ले पछि परे ।

महिला ६७ केजीमुनि इन्दिरा बस्नेत अन्तिम १६ इरानकी मेलिका मिरहोसेनी भाकिली २–० ले निराश भइन् । उनी १४–१ र ९–० ले पराजित भइन् ।

अब एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजीमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close