
पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी ४ वर्षका लागि नयाँ नेतृत्व चयन भएको छ ।
शनिबार काठमाण्डौमा सम्पन्न अधिवेशनले अध्यक्षमा चतुरबहादुर चन्दसहित तीन पदाधिकारी र तीन केन्द्रीय सदस्य निर्विरोध भएका छन् भने एक सचिव र १० केन्द्रीय सदस्य चुनावबाट निर्वाचित भएका हुन् ।
क्यानको सचिवमा पारस खड्काले जित हासिल गरे । उनले प्रशान्तविक्रम मल्ललाई ११ मतले हराउँदै सचिवमा निर्वाचित भए । पारसले ४८ र प्रशान्तले ३७ मत प्राप्त गरे ।
केन्द्रीय सदस्यमा महिलातर्फ जयन्तीदेवी भट्ट निर्विरोध निर्वाचित भइन् । लुम्बिनी प्रदेशबाट प्रदीप मजगैंया र कर्णालीबाट श्रीधर केसी निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भए । कोशी प्रदेशबाट अर्जुन पौडेल निर्वाचित हुँदा मधेस प्रदेशमा माधवकुमार कर्माचार्यले बाजी मारे ।
त्यसै गरि बाग्मती प्रदेशबाट दिवाकर घले निर्वाचित भएका छन् भने गण्डकीबाट सुदीप शर्मा ५२ मत ल्याउँदै विजयी भए । उनका प्रतिस्पर्धी देवेन्द्र प्रजुले २८ मत प्राप्त गरे ।
खुल्ला ५ केन्द्रीय सदस्यमा धीरेन्द्र साउद, दुर्गाराज पाठक, आयूष श्रेष्ठ, विरेन्द्रबहादुर चन्द विजयी भएका छन् । साउदले सर्वाधिक ५९ र पाठकले ५४ मत प्राप्त गर्दा आयूषले ५१ र चन्दले ३४ मत प्राप्त गरे । निर्वाचनमा करन महत्रा क्षेत्री र ऋषिराम गौतमको बराबर २६-२६ मत प्राप्त गर्दा गोला प्रथाबाट करन विजयी बने ।