विद्यालयस्तरिय ह्याण्डबलको उपाधि गण्डकी बोर्डिङ र पोखरा एकेडेमीले जिते

पोखरा स्पोर्टस । पोखरा महानगर प्रथम विद्यालयस्तरिय छात्र/छात्रा ह्याण्डबलको उपाधि छात्रतर्फ गण्डकी वोर्डिङ र छात्रातर्फ पोखरा एकेडेमीले जितेका छन् ।

पोखरा महानगर ह्याण्डबल विकास समितिले आयोजना गरेको प्रतियोगिताको शनिवार सम्पन्न छात्रतर्फ भएको फाइनलमा गण्डकीले लिटिलस्टेप माविलाई १६–०७ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । त्यस्तै छात्रातर्फ पोखरा एकेडेमीले गण्डकी वोर्डिङलाई ४–२ गोल अन्तरले पराजित गरि उपाधि हात पारेको छ ।

उपाधि संगै गण्डकी र पोखरा एकेडेमीले जनही नगद रु १५/१५ हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए भने उपविजेता लिटिलस्टेप र गण्डकीले समान नगद रु १०/१० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

त्यसै गरि छात्रतर्फ सरस्वती आदर्श विद्याश्रम माविले पोखरा एकेडेमीलाई १४–१३ गोल अन्तरले पराजित गर्दै तेश्रो स्थान प्राप्त गर्न सफल हुँदा छात्रातर्फ सरस्वती आदर्श विद्याश्रम माविले ज्ञानज्योती माविलाई १०–० गोलले पराजित गरि तेश्रो स्थान हासिल गर्न सफल भयो । तृतिय हुने दुवै टिमले जनही नगद ७/७ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

प्रतियोगितामा छात्रतर्फ गण्डकी वोर्डिङका मनिष कुंवर र छात्रातर्फ पोखरा एकेडेमीकी पूर्णिमा क्षेत्री उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षकतर्फको उपाधि लिटिल स्टेपका आयूष श्रेष्ठ र पोखरा एकेडेमीका शुष्मा श्रेष्ठले हात पारे भने सर्वाधिक गोलकर्तामा सरस्वतीका सनिष लामा र सोही विद्यालयकी कुशुम बाँनिया बन्न सफल भए ।

विजेता टिम तथा खेलाडीहरुलाई पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदार, प्रदेश खेलकुदका निमित्त सदस्य सचिव केशव पाठक, अग्रज ह्याण्डबल खेलाडी राम गुरुङ, कास्की ह्याण्डबलका अध्यक्ष चित्र थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ, पोखरा महानगर खेलकुदका उपाध्यक्ष राजेन्द्र जिशी, उमेन्स क्लव अफ पोखराका अध्यक्ष सारिका गुरुङ, उपाध्यक्ष शान्ती गुरुङलगायतले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

तिन दिन पोखरा रंगशालामा सञ्चालन भएको प्रतियोगिता छात्रतर्फ १० र छात्रातर्फ ८ गरि कुल १८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रातर्फको प्रथम नगद पुरस्कार राशी रु १५ हजार उमेन्स क्लव अफ पोखराले सहयोग गरेको थियो । समापन कार्यक्रम समितिका उपाध्यक्ष विशाल नेपालीको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव सुभाष गुरुङले गरेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close