लामाचौर कप राष्ट्रिय भलिबल पुरुषतर्फको उपाधि गण्डकीले उचाल्यो

पोखरा स्पोर्टस । लामाचौर कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि घरेलु टोली गण्डकी प्रदेशले उचालेको छ ।

विभागिय क्लब नेपाल पुलिसलाई पराजित गर्दै गण्डकीले उपाधि उचालेको हो । चिरपरिचित प्रतिद्वन्दी पुलिसलाई गण्डकीले ३–२ सेटले पराजित गर्दै उपाधि जिते संगै गण्डकीले नगद रु १ लाख ५० हजार १ सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्न सफल भएको छ ।

त्यस्तै उपविजेता बनेको नेपाल पुलिसले नगद रु १ लाख १ सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चपूर्ण खेलमा पहिलो सेट गण्डकीले २५–२३ लाई पुलिसलाई सुम्पिए पनि दोश्रो सेटमा २५–१९ ले जित्दै खेल बराबरीमा ल्यायो ।

तर तेश्रो सेट पुनः २५–२१ ले गण्डकीले गुमायो । चौथो सेट भने निकै प्रतिस्पर्धात्मक र नाटकिय रुपमा गण्डकीले २८–२६ ले आफ्नो पोल्टामा पार्दै खेलमा मात्रै फर्किएन अन्तिम तथा पाँचौ सेट १५–११ ले जित्दै उपाधि जित्न सफल भयो ।

पुरुषतर्फ विभागिय टोली नेपाल एपिएफ क्लव तेश्रो हुन सफल भएको छ । एपिएफले नगद ५० हजार हात पारेको छ ।

नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा २५ औं संस्करणको लामाचौर तीज महोत्सव अन्तर्गत १० औं संस्करणको लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका थिए । गत वर्षदेखि पुरुषतर्फ स्पर्धा थप भएको हो ।

नेपाल पुलिस क्लबले सोमबार महिलातर्फको उपाधि जितेको थियो । फाइनलमा चन्द्रागिरी नगरपालिका न्यु डायमण्डलाई ३–१ सेटमा हराउँदै उपाधि जितेको हो ।

को को भए उत्कृष्ट
प्रतियोगितामा उत्कृष्ट खेलाडी गण्डकी प्रदेशका रवि केसी भएका छन् । उनले उत्कृष्ट भए संगै नगद ५ हजारका साथमा ट्रफी र प्रमाणपत्र हात पारे ।

त्यस्तै उत्कृष्ट डिफेन्डरमा नेपाल पुलिसका भिम गाहा मगर, उत्कृष्ट सेटरमा नेपाल पुलिसका अभिषेक थापा, उत्कृष्ट सर्भरमा नेपाल पुलिसकै कुल बहादुर थापा, उत्कृष्ट ब्लकरमा गण्डकीका खोम प्रसाद पाण्डे ‘हरि’ र उत्कृष्ट स्पाइकरमा गण्डकीका किरण गुराउ बन्न सफल भए ।

खेल पछि कुरा गर्दै गण्डकी प्रदेशका टिम प्रशिक्षक रमेश केसीले खेलाडीहरुले धैर्य भएर खेलेका कारणले नै उपाधि जितेको बताए । उनले भने–“हामी संग घनश्याम चौधरी र राजन दर्लामी मगर जस्ता खेलाडीहरु आफ्नो घरायसी कारणले यति बेला टिम भन्दा बाहिर थिए । तर यूवा खेलाडीहरुले हाम्रो भरोसालाई कायम गरे ।”

टिम कप्तान हरि पाण्डेले सबैको साथ र सहयोगका कारणले जित हासिल गरेको बताउँदै यो जितले टिमलाई उत्साह जगाएको बताए । उनले सहयोग गर्नेहरु प्रति समेत आभार व्यक्त गरे ।

जित पछि गण्डकी प्रदेश भलिबल संघका अध्यक्ष नविन गुुरुङले खुसी व्यक्त गर्दै टिमको उत्कृष्ट प्रदर्शनले गण्डकी कुनै पनि टिम संग प्रतिस्पर्धा गर्न सक्ने क्षमता रहेको बताए । उनले भने–“पछिल्लो समय हामीले टिमका लागि ठूलो लगानी गरेका छौं । देश विदेशमा रहनुहुने भलिबल प्रेमीहरुले पनि उत्तिकै सहयोग सहयोग गर्नु भएको छ । यो जितको खुसियाली म सबैलाई बाँड्दै सबैप्रति आभार व्यक्त गर्न चहान्छु ।”

एक महिना सम्म बन्द प्रशिक्षणमा रहेका कारणले नै टिमले यो जित हासिल गरेको बताउँदै आगामी दिनमा समेत गण्डकीले आफ्नो जितको अभियानलाई निरन्तरता दिन र यूवा खेलाडीलाई टिममा मौका दिन कुनै पछि नपर्ने अध्यक्ष गुरुङले उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close