चौथो बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा स्पोर्टस । सर्वाधिक पुरस्कार राशीको चौथो मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

बुल्समेन क्लब पोखराको आयोजनामा यहि असोज ५ र ६ गते लालितपुरको सानेपामा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको हो । पहिलो पटक पोखरा भन्दा बाहिर आयोजित उक्त प्रतियोगितामा ओभरअल च्याम्पियनले ट्रफीसहित नगद ५ लाख रुपैयाँ प्राप्त गर्ने क्लबका अध्यक्ष नुना गुरुङले जनाएका छन् ।

बुल्समेन क्लबले यस अघि तीन संस्करणका प्रतियागिताहरु पोखरामै आयोजना गरेको थियो । मोफसलकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगिताको लागि विभिन्न देश सहित नेपालबाट खेलाडीले सहभागिता जनाउने छन् । २०७१ सालदेखि हरृेक २–२ वर्षको अन्तरमा मिष्टर बुल्समेन शारीरिक सुगठन प्रतियोगिताको चौथो संस्करण ०७७ सालमा आयोजना गर्ने तयारी भएपनि कोभिडका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।

‘बुल्समेनको आह्वान युवाहरुको पहिचान’ भन्ने नारासहित स्थापित क्लबले शारीरिक सुगठन खेल मार्फत युवापुस्तलाई खेलकुलप्रति प्रेरित गरेको छ । स्वच्छ समाजको लागि स्वास्थ्य मानसिकता र व्यस्त मानसिकताको लागि स्वस्थ्य शरीर, स्वास्थ्य शरीरको लागि शारीरिक व्यायाम भन्ने मान्यतालाई क्लबले आत्मसात गर्दै आएको छ ।

प्रतियोगिताका अनुसार आगामी असोज ४ गते सहभागि खेलाडीको तौल लिइने छ । पुरुष तर्फ ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी र ८० केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा हुने छ । असोज ५ गते प्रि–जजिङ र असोज ६ गते शनिबार ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा फाईनल हुने क्लबले जनाएको छ ।

मेन्स फिजिक तर्फ १७० सेन्टिमिटर माथि र १७० सेन्टिमिटर मुनी प्रतिस्पर्धा गराईने छ । प्रतियोगितामा महिलाको इभेन्टलाई पनि समावेश गरिएको छ । महिला तर्फ वुमन्स फिजिक र वुमन वेलनेसमा प्रतिस्पर्धा गराईने छ ।

प्रतियोगिताको ओभरअल च्याम्पियनले ५ लाख नगद पुरस्कार प्राप्त गर्ने छ भने प्रत्येक तौल समूहको विजेताले ३५ हजार, दोस्रो हुनेले २५ हजार र तेस्रो स्थानमा रहनेले २० हजार नगद पुरस्कार पाउने छन् ।

मेन्स फिजिकको दुवै इभेण्टका विजेताले १ लाख, उपविजेताले ५० हजार र तेस्रो स्थानमा रहने खेलाडीले ३५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै वुमन फिजिक र वुमन वेलनेस विजेताले पनि समान १ लाख, ५० हजार र ३५ हजार पाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न ४० लाख भन्दा बढि खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न नेपाल सहित विभिन्न देशका खेलप्रेमी महानुभाव संगै वुल्समेन क्लबका सदस्यहरुले आर्थिक सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close