हिमाली जिल्ला मनाङमा सचेतनाका लागि मैत्रीपूर्ण फुटबल

पोखरा स्पोर्टस । हिउँ चितुवा संरक्षण र जलवायु परिवर्तनसम्बन्धि जनचेतनाका लागि हिमाली जिल्ला मनाङको लेक लाग्ने (हाइअल्टिच्युट) स्थानमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आजबाट तिमाङमा सुरु भएको छ । मनाङको चामे गाउँपालिका–१ तिमाङ खेलमैदानमा प्रतियोगिता भएको हो ।

आज पहिलो दिन स्थानीय क्लब काजिनसरा याक र हिमालय स्नो लियोप्याड बीच प्रतिस्पर्धा भएको छ । प्रतिस्पर्धामा हिमालयन स्नो लियोप्याडले ४–३ गोलले जित हासिल गरेको छ । प्रतियोगितामा पहिलो स्थानीय क्लब टिम काजिनसरा याक, पिसाङ याक र मनाङ याकबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो दिन पिसाङमा र तेस्रो दिन मुङ्जी भ्राकामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताबाट वन्यजन्तु संरक्षण गर्नलाई खेलको माध्यमबाट अभिप्रेरित गर्ने लक्ष्य लिइएको छ ।

जलवायु परिवर्तनका कारण धेरै समस्या देखा पर्न थालेपछि मनाङका स्थानीयले खेलको माध्यमबाट जनचेतना प्रदान गर्नका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिएको नमस्ते टुर्सका सञ्चालक एवं पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

उहाँका अनुसार हिमाललाई सन्तुलनमा राख्न भूमिका खेल्ने उद्देश्यले हिउँ चितुवाको बासस्थान जलवायु परिवर्तनले प्रभाव पर्दा लोप हुने अवस्थामा रहेकाले चितुवा संरक्षण र जलवायु परिवर्तनसम्बन्धि सचेतना फैलाउन खेलको माध्यमबाट प्रचारप्रसार गर्न लागिएको हो । समुद्री सतहबाट दुई हजार नौ सय मिटर उचाईमा हिउँ चितुवा र याक संरक्षण गर्ने उद्देश्यले भदौ २५ देखि २७ गतेसम्म सञ्चालन हुने उनले बताए ।

बायो कोषका निर्देशक पारस विक्रम सिंहले मानव तथा वन्यजन्तु द्वन्द्वलाई न्यूनीकरणमा चासोका साथ प्रकृतिको संरक्षणलाई सम्मान गर्दै स्थानीयसमक्ष लोपोन्मुख हिउँ चितुवालगायतका वन्यजन्तुको संरक्षणमा जनचेतना जगाउन कार्यक्रमले भूमिका अपेक्षा गरिएको बताए ।

मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण र जलवायु परितर्वनले हिमाली क्षेत्रमा पारिरहेको प्रभावलाई सुसूचित गर्दैै पर्यटन प्रवद्र्धनमा टेवा अपेक्षा गरिएको छ । एन्ट फाउण्डेसन, वाइल्ड फ्रि र बायोकोसद्वारा मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।

मनाङको तिमाङ, पिसाङ र मुङजी मैदानमा हरि खड्का, अनिल गुरुङ, निरु थापा, अस्मिता रान्पाल, सीता तामाङ, उपेन्द्रमान सिंहलगायतका खेलाडीले फुटबल हाइअल्टिच्युटमा रहेको मैदानमा खेलेका छन् । प्रतियोगितामा मिस नेपाल वर्ल्ड २०२३ श्रीच्छा प्रधानले समेत फुटबल खेलेकी थिइन् ।

कोरियोग्राफर तथा मोडल एवं एन्ट फाउन्डेसनका निर्देशक प्रशान्त ताम्राकारले हिमाली क्षेत्रका लोपोन्मुख जनावरको संरक्षणका निम्ति मैत्रीपूर्ण खेलमार्फत सचेतना प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार कलाकार, खेलाडी र स्थानीय खेलाडी बीच मैत्रीपूर्ण फुटबल सुरु भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close