११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको तयारी सुरु

पोखरा स्पोर्टस । ११ औँ कोरियन एम्बेसडर खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता –२०२३ यहि भाद्र २७ गते देखि ३१ गते सम्म हुने भएको छ ।

नेपाल तेक्वान्दो संघ र दक्षिण कोरियाली दुताबासको संयुक्त आयोजनामा हुने प्रतियोगिताको तयारी सुरु भएको आयोजकले जनाएको हो । प्रत्येक दुई वर्षमा राष्ट्रिय प्रतियोगिताको रुपमा सञ्चालन हुँदै आएको प्रतियोगिता यस पटक भने भारत र बंगलादेशका खेलाडीहरुको समेत सहभागीहुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ७ सय ११ महिला र १ हजार ६७ पुरुष गरी कुल १ हजार ७ सय ७८ जना सिनियर तथा जुनियर खेलाडीहरुको सहभागिता रहने छ । पुम्से तर्फ २५ र ग्यरोगी (फाईट) तर्फ ३२ गरी जम्मा ५७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा रहने प्रतियोगिता आयोजक समितिका संयोजक भान बहादुर चन्दले बताएका छन् ।

प्रतियोगिता सम्पन्न गर्न नेपाल तेक्वान्दो संघका उपाध्यक्ष चन्दको संयोजकत्वमा ३५ सदस्यीय आयोजक समिति गठन गरिएको छ । जस अन्तर्गत १० वटा उपसमितिहरु रहेका छन् । प्रतियोगिता सञ्चालन गर्न ६० जना निर्णायक, १५ जना प्राविधिक र ३५ जना स्वयम् सेवकहरु परिचालन गरिने भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको कुल लागत करिब ३५ लाख रहेको छ । जसमध्ये कोरियाली दुताबासले करिब ५ हजार अमेरीकी डलर, खेलाडी दर्ताबाट करिब १७ लाख र बाँकी रकम नेपाल तेक्वान्दो संघले व्यवस्थापन गर्ने जनाइएको छ । प्रतियोगिताले नेपाल र कोरिया बिचको आपसी र दौत्य सम्बन्ध अझ प्रगाढ हुने र सहभागीहरुलाई आफ्नो प्रदर्शन गर्न र आत्मविश्वास उच्च पार्न महत्वपूर्ण अवसरको रुपमा रहने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close