
पोखरा स्पोर्टस । पोखरा १९ लामाचौर तिज महोत्सवमा आयोजना हुने ‘लामाचौर कप राष्ट्रिय पुरुष तथा महिला भलिबल प्रतियोगिता’मा सहभागि हुने टिमको टुङ्गो लागेको छ । टिमको टुङ्गो लागे सङ्गै विभागिय टिम त्रिभुवन आर्मी क्लवको पुरुष तथा महिला दुबै टिमको सहभागिता नहुने आयोजकले जनाएको हो ।
नेपाल आर्मी क्लबका केही पुरुषतर्फ खेलाडीहरु १९ औं एसियाली खेलकुदका लागि राष्ट्रिय टिममा समावेश भएको र ३ जना खेलाडीलाई नेपाल भलिबल संघले अनुशासनको कार्वाही गरेका कारण आर्मीको सहभागिता नहुने निश्चित भएको छ भने अन्तिम समयमा महिलातर्फ समेत सहभागिता नजनाउने भन्दै पत्रचार गरेको आयोजकले आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पुरुषतर्फ आर्मीको सहभागिता नहुने भए संगै त्यसको अवसर भने गल्कोट स्पोर्टस क्लव बाग्लुङले पाएको छ । क्लवले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको आयोजक नव आदर्श युवा क्लवका अध्यक्ष स्वागत सिंह भण्डारीले जानकारी दिएका छन् ।
त्यसै गरी पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टोली नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, मणिमुकुन्द क्लव बुटवल गरि पाँच टिमको सहभागिता हुनेछ ।
यसै गरि महिलातर्फ विभागिय टोली त्रिभुवन आर्मी क्लबको सहभागिता नहुने भए पछि प्रतियोगितामा ४ टिमको सहभागिता हुने भएको छ । प्रतियोगितामा नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीको एपिएफ क्लव, न्यू डायमण्ड क्लव तथा एभरेष्ट भलिबल क्लव बुटवलले सहभागिता जनाउने छन् । महिलाहरुको खेल राउण्ड रोविनको आधारमा सञ्चालन हुने पश्चिमाञ्चल क्षेत्रिय खेलकुदका लेखा प्रमुख डिवी नेपालीले जानकारी दिए ।
भदौ ३० गते सुरु हुने भनिएको उक्त प्रतियोगिताका पहिलो चरणका खेलहरु भने भदौ २९ गते एक दिन अगावैबाट सुरु हुने आयोजकले जनाएको छ ।
समाजले भलिबल प्रतियोगिता संगै अन्तर महिला समुह तिज गित प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, सितेरियो प्रतियोगिता, स्रष्टा सम्मान, सांस्कृतिक कार्यक्रमहरु समेतको तयारी छ । संस्थाको २७ औं वार्षिकोत्सव समारोह अन्तर्गत हुने कार्यक्रमहरु सम्पन्न गर्न करिव ५० लाख ७७ हजार खर्च लाग्ने संस्थाले जनाएको छ ।
राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमश नगद रु १ लाख ५० हजार १ सय ११, १ लाख १ सय ११ र ५० हजार १ सय ११ रुपैयाँका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने समाजले जनाएको छ ।
नव आदर्श सामुदायिक विकास समाजले विगत २५ वर्ष देखि निरन्तर भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । विगतमा विद्यालयस्तरिय छात्रा भलिबल गर्दै आएको समाजले छात्रा टिमको सहभागिता घटे संगै पछिल्लो १० वर्ष यता महिला र पुरुषतर्फ प्रतियोगिता सञ्चालन गरेको हो ।
पोखरा १९ लामाचौर इन्द्रराज्य लक्ष्मी विद्यालयको प्राङ्डमा आयोजना हुने भलिबल प्रतियोगिताका लागि ४ हजार दर्शक क्षमताको प्याराफिटको निर्माण गरिने सो समितिका संयोजक वुद्धि बहादुर खत्रीले जानकारी दिएका छन् । खेल अवलोकनका लागि पहिलो दिनको रु १ सय, दोश्रो र तेश्रो दिनका खेलहरुको रु २ सय तथा फाइनल खेलका लागि रु ३ सय तोकिएको संयोजक खत्रीले जानकारी दिए ।
महोत्सव सफल बनाउन श्रम, रोजगार तथा सामाजिक शुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश, उद्योग बन तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, नेपाल भलिबल संघ, गण्डकी प्रदेश भलिबल संघ, कास्की जिल्ला भलिबल संघ, नेपाल पर्यटन वोर्ड, पोखरा वडा नं १९ र १६ को वडा कार्यालय लगायतको सहयोग रहने महोत्सवका प्रचार प्रसार समितिका संयोजक दिनेश भण्डारीले बताए ।
महोत्सव सफलताका साथ सम्पन्न गर्न बैदेशिक रोजगार तथा शैक्षिक अध्ययनका लागि विभिन्न देशमा पुगेका यस क्षेत्रका व्यक्तिहरु तथा समाजका भगिनी संस्थाहरु अस्टे«लिया, अमेरिका, जापान, पोर्चुगल, क्यानाडा लगायत विभिन्न देश सहित अन्य सहयोगी दाताहरुबाट सहयोग रकम संकलनको लागि समन्वय भईरहेको समेत् समाजले जनाएको छ ।
महोत्सव सम्पन्न गर्न ३३ वटा विभिन्न उपसमिति गठन गरिएको जानकारी दिंदै समाजका अध्यक्ष खत्रीले सफल बनाउन सबै संग आग्रह गरेका छन् । मेलामहोत्सव सञ्चालनबाट बचत रकम सामाजिक विकास तथा आकस्मिक सेवा एम्बुलेन्स शववहान सञ्चालनमा खर्चिने अध्यक्ष भण्डारीले जनाएका छन् । मेलाको समापन असोज १ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।