
पोखरा स्पोर्टस । ‘चौथो टाइगर कप अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप महिला तथा तथा पुरुष भलिबल प्रतियोगिता २०८०’ माघ १ गते देखि ६ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको शुक्रबार सम्पन्न सचिवालय बैठकले उक्त निर्णय गरेको संस्थाका अध्यक्ष एवं नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण शर्माले जानकारी दिएका हुन् । प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरि कुल १२ टिमको सहभागिता हुने अध्यक्ष शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए । उनले भने–“प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमको सहभागिता हुनेछ जसबाट गण्डकी प्रदेशको भलिबल खेल विकासमा योगदान पुग्ने छ भने खेलकुद मार्फत समृद्धिको यात्राको ढोका समेत खुल्नेछ ।”
माघ १ गते देखि टाइगर कप प्रतियोगिता जुध्ने गरि अन्य खेलकुद कार्यक्रमहरु आयोजना नर्गन सबै खेलकुद संघ संस्थाहरुलाई अध्यक्ष शर्माले आग्रह गर्दै प्रतियोगिता सफल बनाउन सहकार्य र सहयोगका लागि समेत आग्रह गरे । “यो प्रतियोगितालाई गण्डकी प्रदेशकै खेल पर्वको रुपमा हामीले आयोजना गर्नेछौं । हामी सम्पूर्ण संघ–संस्था, गण्डकी प्रदेशवाशी तथा पोखरेली भलिबल प्रेमीहरुलाई सफल बनाउन आग्रह गर्दछौं”, उनले भने ।
नेपाल भलिबल संघको स्विकृतीमा आयोजना हुने उक्त प्रतियोगितालाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, स्थानिय तहका सरकारहरुलगायतको सहयोग र सहकार्य रहने जानकारी दिंदै अध्यक्ष शर्माले देशविदेशमा रहेका सम्पूर्ण भलिबल प्रेमीहरुलाई सहयोगका लागि अपिल गरेका छन् । उनले भने–“विगतका संस्करणमा हामीले स्वदेश तथा विदेशका धेरै सहयोगी मनहरुबाट सहयोग प्राप्त गरेका थियौं । म अध्यक्षको हैसियतले उहाँहरुलाई पुनः एकपटक आभार व्यक्त गर्दै चौथो सस्करणका लागि सहयोगको आग्रह गर्न चाहन्छु ।”
बैठकले यस अधिको संस्करणमा प्रदान गरिंदै आएको पुरस्कार राशीमा समेत वृद्धि गरेको छ । प्रतियोगितामा महिला/पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्ने अध्यक्ष शर्माले बताए ।
त्यसै गरि उत्कृष्ट हुने महिला तथा पुरुष खेलाडीले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गर्नेछन् भने अन्य विद्यागत तर्फ हरेक खेलाडीले जनही नगद रु १० हजार ५५५ प्राप्त गर्नेछन् ।
तेस्रो संस्करणको उपाधि पुरुषतर्फ गण्डकी प्रदेश र महिलातर्फ शसस्त्र प्रहरीको एएिएफ कलबले जितेका थिए ।