
पोखरा स्पोर्टस । पूर्व राष्ट्रिय ह्याण्डबल तथा एथलेटिक्स खेलाडी पुष्पा श्रेष्ठले महिला राष्ट्रिय ह्याण्डबल टोलीलाई टिशर्ट प्रदान गरेकी छन् ।
१९ औं एसियाली खेलकुदको लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई शुक्रबार टिशर्ट प्रदान गरेकी हुन् । पोखरा रंगशाला बहुउद्धेश्यिय कभर्डहलमा पूर्व राष्ट्रिय ह्याण्बल खेलाडी पुष्पाले एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना सहित आफूले टिशर्ट उपहार प्रदान गरेको बताइन् ।
पोखरा ८ निवासी पुष्पा कास्की ह्याण्डबलकी उपाध्यक्ष समेत हुन् । उनले २०३८ सालबाट ह्याण्डबल र एथलेटिक्स खेलबाट खेल जिवनको सुरुवात गरेकी हुन् । नेपाली राष्ट्रिय टोलीमा समेत रहेर खेली सकेकी पुष्पा नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चकी कार्यसमिति सदस्य हुन् ।
नेपाली महिला ह्याण्डबल टिमले एसियन गेम्समा डेव्यु गर्न लागेकोले आफूलाई निकै हर्षित बनाएको बताउँदै पुष्पाले नेपाली ह्याण्डबलले अब फड्को मार्ने बताइन् । उनले भनिन्–“यो नेपाली महिला ह्याण्डबल खेलाडीहरुको गौरवको विषय हो । हामी सबैले जितको शुभकामना दिन चाहन्छौं । एसियन गेम्समा हाम्रो सहभागिताले पक्कै पनि नेपाली ह्याण्डबल खेलको विकासमा योगदान पुग्ने छ ।”
१९ औं एसियाली खेलकुदमा महिला तर्फ नेपाल सहित ९ देशको सहभागिता रहेको छ । ग्रुप बिमा रहेको नेपालले आयोजक चिनसहित, जापान, हङकङ र भारत सङ खेल्नेछ ।
एसियाली खेलकुदको पूर्व तयारीका लागि बन्द प्रशिक्षणमा रहेको टोलीमा उमा राई, आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नते, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगिता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल, हेलिना राना तथा टिम कप्तानमा बन्दना राई रहेका छन् । त्यसै गरी टिम प्रशिक्षकमा विन्दा थापा र दिपक सिंह बोहरा रहेका छन् ।
चिनको होङझावमा २०२३ सेप्टेम्वर २२ देखि अक्टोबर ८ सम्म आयोजना हुने १९ औं एसियाली खेलकुदमा नेपालले आफ्नो पहिलो खेल आयोजक चिन संग खेल्नेछ ।