
पोखरा स्पोर्टस । पोखरामा ‘स्व. इन्द्र गुरुङ स्मृति विद्यालयस्तरिय ब्याडमिन्टन प्रतियोगिता’ सुरु भएको छ ।
कास्की जिल्ला ब्याडमिन्टन संघको आयोजना सुरु भएको १९ औं संस्करणको उक्त प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङले गरेका छन् ।
पोखरा रंगशालास्थित ब्याडमिन्टन कोर्टमा सुरु भएको उक्त प्रतियोगिताका पहिलो चरणका खेलहरु जारी रहेको संघका अध्यक्ष सुशिल श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
प्रतियोगितामा मावि स्तरिय (कक्षा १० सम्म) सिंगल्स व्याइज/गर्ल्स, प्लस टु तर्फ सिंगल्स व्याइज/गर्ल्स, मावि स्तरिय (कक्षा १० सम्म) डबल्स् व्याइज/गर्ल्स तथा प्लस टु तर्फ डवल्स् व्याइज/गर्ल्सका इभेन्टहरु हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
यहि भदौ २३ गते सम्म सञ्चालन हुने प्रतियोगितामा २८ विद्यालयका १८० खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगितामा च्याम्पियन हुने खेलाडीले एक/एक थान साइकल प्राप्त गर्नेछन् भने अन्य विजेताले ट्रफी, मेडल प्रमाणपत्रका साथमा गिफ्ट ह्याम्पर प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बताए ।