
पोखरा स्पोर्टस । राष्ट्रिय खेलकुद परिषद (राखेप)का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ले नेपाली खेलकुद परिवर्तनको अभियानमा रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) नेपालको सातौं महाधिवेशनलाई सोमबार पोखरामा सम्वोधन गर्दै उक्त उनले कुरा बताएका हुन् । नेपाली खेलकुदमा आइटिएफले आफ्नो प्रभाव पार्न सफल भएकोमा प्रशंसा गर्दै उपाध्यक्ष कोइरालाले नेपाली खेलकुदलाई परिवर्तनको अभियानमा अघि बढाउन परिषद अघि बढेको बताए । उनले भने–“नेपाली खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको छ । राखेपले धेरै चुनौतीका बाबजुद परिवर्तनको अभियानमा अघि बढाउने प्रयासमा छौं । नेपाली राजनितिले जव सम्म खेलकुदका समस्या पहिल्याउन सक्दैन तव सम्म हामीले सोचे जस्तो गरि परिवर्तन सम्भव छैन ।”
नेपाली खेलकुदको परिवर्तनका लागि परिषदले आफ्नो जिम्मेवारी गहन रुपमा अघि बढाएको बताउँदै एक देश एक तेक्वान्दो अभियानमा अघि बढ्नु पर्ने कुरामा जोड दिंदै उपाध्यक्ष कोइरालाले योजना सहित अघि बढ्न समेत आग्रह गरे । अझै पनि केही व्यक्तिहरु आइटिएफ चकनाचुर होस भन्ने दिवास्वपन देखि रहेको बताउँदै राखेपको कर्मचारीहरुको पदपुर्तिका लागि ओएनएम सर्भे समेत बुझाउने गरि तयार गरिरहेको बताँउँदै भने–“ओएनएम सर्भेको प्रतिवेदन आइसके पछि नेपाली खेलकुदमा आवश्यक्ता अनुसार कर्मचारीहरुको पदपुर्ती हुने मात्रै छैन नेपाली खेलकुदलाई सकारात्मक परिवर्तनको अभियानमा अघि बढाउन भूमिका खेल्नेछ ।”
आइटिएफ मार्फत नेपाली यूवाहरुलाई मार्गदर्शनका लागि भूमिका खेल्न आग्रह गर्दै उपाध्यक्ष कोइरालाले त्यो अभियानका लागि नयाँ नेतृत्वले भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।
सो अवसरमा आफ्ना भनाई राख्दै राष्ट्रिय खेलकुद परिषदका कार्यबहाक सदस्य सचिव अन्जत धमालाले तेक्वान्दो जिवनको अभिन्न अङ्गको रुपमा रहेको उल्लेख गर्दै आइटिएफले खेलकुद संगै विभिन्न सामाजिक अभियानमा आफूलाई अग्रपंक्तिमा उभ्याएको दावि गरे । महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उनले नेपाली खेलकुद नयाँ सोचका साथ अघि बढेको बताउँदै आफ्नो कार्यकालमा महासंलाई यो अवस्था सम्म ल्याउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा आइटिएफले गरेका विभिन्न गतिविधिका बारेमा समेत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आइटिएफ नेपालका तदर्थ समितिका अध्यक्ष प्रविन कुमार कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राखेपका सदस्य प्रकाश कुमार कुशारीले खेलकुदलाई व्यवसायिक बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा पुर्याउने गरि विकास गर्नुपर्ने कुरामा जोड दिए ।
सो अवसरमा आइटिएफ नेपालका संस्थापक अध्यक्ष तथा अग्रज खेलाडी खड्ग बहादुर रानाभाट, आइटिएफ नेपालका उपाध्यक्ष राजु खड्का र महासचिव अन्जु राउत लगायतले आफ्ना भनाइ राखेका थिए ।
अधिवेशनमा ५५ जिल्ला र सात प्रदेशका गरि १६० भन्दा वढि प्रतिनिधहरुको सहभागिता रहेको छ । अधिवेशनले आइटिएफ नेपालको नयाँ नेतृत्व चयन समेत गर्ने छ ।