
पोखरा स्पोर्टस । नेपाल आर्चरी संघले पोखराको आभ्या क्लवलाई एक कार्यक्रमका विच सम्मान गरेको छ । १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुलाई फिजिकल फिटनेस संगै न्युट्रिसियनका लागि गरेको सहयोग प्रति संघले सहयोग गरेको हो । क्लवसहित क्लवका निर्देशक निरज लामा, फिटनेश प्रशिक्षक दुर्गा खोर्जा पुन र न्युट्रिसियन श्रीविद्या रघुनाथन कायस्थलाई सम्मान गरिएको थियो । उनीहरुलाई प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्मा, संघका अध्यक्ष दिपकराज गुरुङ, राखेप तालिम तथा प्रशिक्षण विभाग प्रमुख प्रचण्ड शर्मा लगायतले सम्मानपत्र सहित उनीहरुलाई सम्मान गरेका थिए ।
कार्यक्रममा आफ्ना भनाई राख्दै सदस्य सचिव शर्माले राष्ट्रिय खेलकुद परिषद खेलकुदका लागि संघियता बिरोधी भएको बताए । उनले भने–“खेलकुदमा कोही संघियता विरोधी जस्तै देखिएको छ भने त्यो राष्टि खेलकुद परिषद नै हो । जसले कानुनको पालना गरेको छैन ।” उनले गण्डकी प्रदेशमा भएका खेल पूर्वाधारहरु संरक्षण र सम्वर्द्धनका लागि प्रदेश खेलकुद परिषदलाई हस्तान्तरण गर्नुपर्नेमा त्यो हुन नसकेकोमा खेलकुद विकासले गति लिन नसक्ने बताए । “हामीले सबै कुरा मागेका होइनौं । कम्तिमा पनि रंगशालाको संरक्षणको जिम्मा हामीलाई दिइयोस,”–उनले भने ।
खेल क्षेत्रले केवल मेडलको मात्रै आश गर्यौं भने हाम्रो सोचाई गलत हुने बताउँदै सदस्य सचिव शर्माले खेलकुद क्षेत्र अद्वितिय भएकोले पनि त्यसको गरिमालाई जोगाई राख्न सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए । उमेर समुहका खेलाडीहरुलाई मैदानमा ल्याउने चुनौतीको विषय रहेको बताउँदै भने–“प्रदेश खेलकुद परिषद र राष्ट्रिय खेलकुद परिषदका विच तालमेल भयो भने मात्रै खेलाडी उत्पादन हुने छ ।” प्रदेश खेलकुद परिषदले खेलकुद विकासका लागि विभिन्न योजनाहरु अघि सारेको बताउँदै खेल पदाधिकारीले इमान्दारिता पूर्वक कार्य गर्नुपर्नेमा जोड दिंदै भने–“सरकारले मात्रै चाहेर मात्रै खेलको विकास सम्भव छैन । हामी सबैको इमान्दारिता उत्तिकै खाँचो छ ।”
खेलकुद विकासका लागि खेल संघहरुलाई अझै बढि जिम्मेवार बनाएर अघि बढाउने योजना सहित प्रदेश खेलकुद अघि बढेको जनाउँदै सदस्य सचिव शर्माले असल कामको सिको गर्दै अघि बढ्न समेत सुझाव दिए ।
नेपाल आर्चरी संघका अध्यक्ष दिपकराज गुरुङले नेपाली राष्ट्रिय आर्चरी खेलाडीहरुलाई आभ्या क्लवले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै १९ औं एसियाडमा नेपाली खेलाडीहरुको प्रदर्शन उच्च रहनेमा आफू विश्वस्त रहेको बताए ।
सो अवसरमा संघका उपाध्यक्ष एवं नेपाल आर्चरी संघ गण्डकीका अध्यक्ष बसन्त थकाली, आभ्या क्लवकी दुर्गा खोर्जा पुन, १९ औं एसियाडमा सहभागि हुने खेलाडी योगेन्द्र शेरचनले आफ्ना भनाई राखेका थिए ।
१९ औं एसियाली खेलकुदका लागि गत साउन १ गतेबाट ४ जना खेलाडीहरु बन्द प्रशिक्षणमा रहेका छन् । पोखरामा बन्द प्रशिक्षणमा रहेका खेलाडीहरुमा योगेन्द्र शेरचन, तिलक पुन मगर, इमायुङ राई र मञ्जु बजगाई रहेका छन् । उनीहरुलाई बसन्त थकालीले प्रशिक्षण दिइरहेका छन् । उनीहरुलाई आभ्या क्लव पोखराले निशुल्क रुपमा फिजिकल फिटनेश लगायतको प्रशिक्षण दिएको थियो ।