महिला भेट्रान्स ह्याण्डबलको उपाधि यो–यो महिला समुहले जित्यो (साथमा भिडियो)

पोखरा स्पोर्टस । पोखरामा आयोजित महिला भेट्रान्स ह्याण्डबल प्रतियोगिताको उपाधि यो–यो महिला समुहले जितेको छ । नेपालमा नै पहिलो पटक ३५ देखि ६१ वर्ष उमेर समुह सम्मिलित एक दिवशिय ह्याण्डबल प्रतियोगिता उमेन्स क्लव अफ पोखराले आयोजना गरेको हो ।  प्रतियोगितामा यो–यो समुहले फिट जोन जुम्वा महिला समुहलाई ४–२ को गोल अन्तरले पराजित गर्दै उपाधि संगै नगद रु ३० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पारेको छ ।

साथमा यो पनि

प्रतियोगितामा उपविजेता बनेको फिट जोन महिला समुहले नगद रु २० हजारका साथमा ट्रफी, मेडल हात पार्न सफल हुँदा स्याङजा मनकामना महिला समुहले तेश्रो स्थान प्राप्त गर्दै नगद रु १० हजार प्राप्त गरेको छ । तेश्रो स्थानका लागि भएको खेलमा स्याङजा तमु समाज वुढिबजार ३–२ गोल अन्तरले पराजित भएको थियो । निर्धारित समयमा दुवै टिमबाट २–२ गोल हुँदा थपिएको समयमा स्याङजा मनकामना विजेता बन्न सफल भयो ।

प्रतियोगितामा फिट जोन महिला समुहकी रिता राना उत्कृष्ट खेलाडी घोषित भइन भने यो–योकी प्रमिला थापा सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपर यो–योकै मेलिना गुरुङ भएको कास्की ह्याण्डबल संघका अध्यक्ष चित्र थापाले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगिता सफल बनाउन कास्की ह्याण्डबल संघले प्राविधिक सहयोग गरेको थियो । 

प्रतियोगितामा विजेता खेलाडी तथा टिमहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङ, अग्रज खेलाडी खडग बहादुर रानाभाट, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष हरिप्रसाद पराजुली, प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङ, मञ्चका द्वितिय उपाध्यक्ष खेम बहादुर गुरुङ, कार्यसमिति सदस्य दिनेश कुमार श्रेष्ठलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि प्रतियोगिताको उद्घाटन नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं नेपाल ह्याण्डबल संघका अध्यक्ष गुरुङले गरेका थिए । प्रतियोगिता उद्घाटनका अवसरमा उपाध्यक्ष गुरुङले भेट्रान्स महिलाहरु ह्याण्डबल विश्वमा नै विरलै हुने भएकोले यो प्रतियोगिताले इतिहास बनाएको बताउँदै नेपाली महिलाहरुको खेलप्रतिको जागरुकताले समाजमा खेल विकासलाई गति दिन सहयोगी हुने बताए ।

प्रदेश खेलकुद परिषद गण्डकीका निवर्तमान सदस्य सचिव समेत रहेका गुरुङले भने–“एक महिला स्वस्थ्य हुँदा परिवार स्वस्थ्य हुन्छ । परिवार स्वस्थ्य हुँदा समाज स्वस्थ्य बन्न सहयोगी भूमिका खेल्छ । त्यो स्वस्थ्य बन्ने आधार खेलकुद हो । आज महिलाहरुले नेपाली समाजमा त्यो उदाहरण पेश गर्नुभएको छ । जसको जति प्रशंसा गर्दा पनि कम हुन्छ ।” 

करिव तिन साता भन्दा लामो तयारी गरेका महिला भेट्रान्स महिला खेलाडी सम्मिलित ८ टिमको प्रतियोगितामा सहभागिता रहेको थियो । महिलाहरुलाई खेलकुद मार्फत सचेतना जगाउँदै उनीहरुको शारिरिक, मानसिक अवस्थालाई सवल बनाउन प्रतियोगिता आयोजना गरिएको संस्थाकी अध्यक्ष सारिका गुरुङले बताइन् । 

आगामी दिनमा समेत महिलाहरुका विभिन्न प्रतियोगिताहरु आयोजना गर्ने संगै ह्याण्डबल प्रतियोगितालाई वार्षिक क्यालेण्डरमा नै राखेर निरन्तरता दिने उनले बताइन् । उनले भनिन्–“यो हाम्रो पहिलो प्रयास थियो । जसमा हामी सफल भएका छौं । हामीले सामाजिक अभियान संगै विशेष गरी महिला दिदी बहिनीहरुलाई खेलकुद मैदानमा ल्याउने अभियानलाई जारी राख्नेछौं ।”

प्रतियोगिता उद्घाटन अघि १९ औं एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेको नेपाली महिला राष्ट्रिय ह्याण्डबल टिमले प्रदर्शनी खेल खेलेको थियो ।

प्रतियोगिता अवलोकनका लागि ठूलो संख्यामा दर्शकहरु पोखरा रंगशालाको बहुउद्धेश्यिय कभर्डहलमा पुगेका थिए । सहभागि टिमहरुले उद्घाटनका अवसरमा देशभक्ति गितमा सामुहिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close