नेपालगञ्ज म्याराथन मंसिर ९ गते हुने

पोखरा स्पोर्टस । नवौं धारा नेपालगन्ज म्याराथन आउँदो ९ मंसिर, २०८० शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष ९ गते शनिवार हुने भएको हो ।

दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य भई देशले शान्ति, विकास र समृद्धिको बाटोमा यात्रा तय गरेको दिनको स्मरण गर्दै ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गते देखि खेलाडी दर्ता खुला गरिएको छ ।

नेपालगन्ज म्याराथनको वेभसाइट (www.nepalgunjmarathon.com) मा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ । यस बर्ष अघिल्लो वर्षमा चार विधा थप गरि बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुल स्तरमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष÷महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।

नेपालगन्ज उपमहानगरपालिकाको गेटबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ । नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।

यस बर्ष केही विधामा नगद पुरस्कार राशीमा वृद्धि गरिनेछ । केही सरप्राइज प्याकेज पनि घोषणा गरिनेछ ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close