पोखरा म्याराथनलाई वि विल राइज फाउन्डेशनले नगद ५ लाख सहयोग गर्ने

पोखरा स्पोर्टस । पोखरा म्याराथनलाई वि विल राइज फाउन्डेशनले नगद रु ५ लाख सहयोग गर्ने भएको छ ।

फाउन्डेसनका अध्यक्ष तथा मञ्चका आजिवन सदस्य तुलसी कुमार गुरुङले पोखरा म्याराथनको प्रथम पुरस्कार वापतको रकम नगद रु ५ लाख सहयोगको घोषणा गरेका हुन् । पोखरामा मंगलबार मञ्चका पदाधिकारीहरु संगको भेटघाटमा पूर्व राष्ट्रिय तेक्वान्दो खेलाडी तथा ग्राण्ड मास्टर गुरुङले पोखरा म्याराथनले विश्वमा नै खेलकुद मार्फत प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

उनले भने–“पोखरा आफैमा सुन्दर शहर हो । प्राकृतिक सम्पदाले सु–सम्पन्न पोखरालाई पोखरा म्याराथनले अझै उचाईमा पुर्‍याएको छ । म संस्थाको तर्फबाट र व्यक्तिगत रुपमा नगद रु ५ लाखको सहयोगको घोषणा गर्न चाहन्छु ।” वि विल राइज फाउन्डेशन र पोखरा म्याराथनले पोखरा प्रवर्द्धनका लागि संयूक्त रुपमा पहल गर्न आफूले सहयोगको घोषणा गरेको बताउँदै यो सहयोगलाई निरन्तरता दिने समेत बताए ।

पोखरा घर भई हङकङलाई कर्मथलो बनाएका अध्यक्ष गुरुङ हालै आफ्नी आमाको निधनका कारण अन्तिम संस्कारका लागि पोखरा आएका थिए । हङकङ राष्ट्रिय तेक्वान्दो टिमका प्रशिक्षक समेत रहिसकेका गुरुङले नेपाल भूतपूर्व खेलाडी मञ्चको अभियान संगै हङकङमा मञ्चको आजिवन सदस्य बनाउने अभियानमा समेत आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । हङकङमा आयोजना हुने हङकङ म्याराथनमा पोखरा म्याराथनको विजेता नेपाली खेलाडीको सहभागिताका लागि आफूले पहल गर्ने उनले जनाए ।

मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले उनले गरेको सहयोग प्रति आभार व्यक्त गरे ।

१८ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन ५ गते हुने छ । म्याराथनमा सहभागिता जनाउन केही अन्तर्राष्ट्रिय धावकहरुले नाम दर्ता समेत गरिसकेको मञ्चका सचिव केशव पाठकले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close