
पोखरा स्पोर्टस । ऐतिहासिक तथा धार्मिक केन्द्रको रुपमा रहेको गोरखा मनकामना देखि गोरखा कालिका सम्म आयोजित खुल्ला म्याराथन (४२.१९५ किमि) दौडको पुरस्कार राशी घोषणा गरिएको छ ।
गोरखा जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने म्याराथनको पुरस्कार राशी घोषणा गरिएको हो । गोरखा जिल्लामा नै पहिलो पटक आयोजित उक्त खुल्ला म्याराथनमा नगद पुरस्कार वापत रु ५ लाख ७० हजार खर्च हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्त बहादुर बस्नेतले बताएका छन् । “गोरखामा आयोजना हुने अहिले सम्मकै वृहत प्रतियोगिता हो”, उनले भने–“यसले गोरखालाई खेलकुद केन्द्रको रुपमा स्थापित गर्न ढोका उर्घानेछ ।”
म्याराथनमा उपाधि विजेताले धावकले नगद रु १ लाख ५० हजार प्राप्त गर्नेछन् भने दोश्रो हुनेले नगद रु १ लाख, तेश्रोले ७५ हजारका साथमा मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष बस्नेतले पोखरा स्पोर्टसलाई जानकारी दिए । प्रतियोगितामा चौथो देखि १० औं स्थान सम्म हुनेलाई क्रमश नगद रु ६० हजार, ५० हजार, ४० हजार, ३५ हजार, २५ हजार, २० हजार र १५ हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तै गरी प्रतियोगितामा दौड पुरा गर्ने सबै धावकहरुलाई मेडल प्रदान गरिने छ ।
आगामी २०८० पुष १ गते तय गरिएको उक्त प्रतियोगिताको प्रारम्भिक तयारी सुरु गरिएको जानकारी दिंदै अध्यक्ष बस्नेतले म्याराथन दौड गोरखा मनकामना मन्दिरबाट सुरु भएर गोरखा कालिका मन्दिरमा पुगेर सम्पन्न हुनेछ ।
उक्त म्याराथन दौडमा गोरखाको शहिद लखन गाउँपलिका र गोरखा नगर पालिकाको रुट प्रयोग गरिनेछ ।
खेलकुद मार्फत दुई महत्वपूर्ण धार्मिक केन्द्रहरुको प्रचार प्रसार संगै समग्र गोरखा जिल्लालाई खेलकुद केन्द्रको रुपमा विकास गर्न तथा यूवा खेलाडी उत्पादनका लागि म्याराथन दौडले महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष बस्नेतले बताए ।
उक्त म्याराथन प्रतियोगिता सम्पन्न गर्न करिव ३० लाख खर्च अनुमान गरिएको जिल्ला खेलकुदले जनाएको छ ।