पोखरामा ३५ वर्ष माथिका महिलाहरु ह्याण्डबल खेल्दै

पोखरा स्पोर्टस । घरमा नै गृहणीको रुपमा व्यस्त महिलाहरु भने खेलकुदमा समेत अघि बढ्न थालेको सन्दा जो कोही पनि अचम्भ मान्नै पर्छ । त्यसो त पाका उमेरका महिलाहरुले सहाशिक कार्यहरु गरेर संसारलाई अचम्भित बनाएका प्रशस्त उदाहरणहरु पनि छन् ।

यस्तै पोखरामा उमेरले ३५ नाघेका ६१ वर्ष सम्म उमेर समुहका महिलाहरु ह्याण्डबल खेल्दैछन् भन्दा अचम्भित नमान्दा हुन्छ । त्यसको तयारीमा जुटेको हो ‘उमेन्स क्लव अफ पोखरा’ । ह्याण्डबल खेल विश्वमा नै खेलहरुको मध्येको दोश्रो तिव्र गतिको खेलको रुपमा स्थापित छ । पोखरामा यहि भदौ १६ गते हुने खेलमा १० टिमको सहभागिता हुँदैछ । उनीहरु त्यही तिव्र गतिको खेल रोजेका छन् । ह्याण्डबल खेल आफैमा निकै आकर्षक खेल समेत हो । 

पोखरा नेपालकै ह्याण्डबल खेलको हवको रुपमा समेत पहिचान बनाएको छ । तर भदौ १६ गते छोरा–छोरी होइन आमाहरु मैदानमा उत्रिनेछन् । पोखरा रंगशाला वहुउद्धेश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितात्मक महिला ह्याण्डबलमा पुरस्कार राशी समेत तोकिएको छ ।

नेपालमा नै पहिलो पटक आयोजना हुन गइरहेको ३५ वर्ष माथीको महिला ह्याण्डबल नेपाली खेलकुदमा नौलो रहेको बताउँछन् नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङ । “यस्तो उमेर समुहको खेल त नेपालमा नै आयोजना भएको थिएन” नेपाल ह्याण्डबल संघको समेत जिम्मेवारीमा रहेका उनले भने–“आमा, दिदी बहिनीहरु १०–१० टिम ह्याण्डबलको मैदानमा उत्रिनु कल्पना गर्नै सकिदैन । यो खेलकुद मार्फत समाज परिवर्तनको बाटो हो भने महिलाहरुलाई शसक्तिकरण गर्ने अभियान समेत हो ।” यसले ओलम्पिक अभियानको ‘सबैका लागि खेलकुद’ भन्ने नारालाई समेत आत्मसात गरेको उनले बताए ।

महिलाहरु भदौ १६ गतेको प्रतियोगिताका लागि करिव एक महिना देखि ह्याण्डबलको प्रशिक्षणमा समेत व्यस्त छन् । पोखरा रंगशालाको प्रशिक्षण केन्द्र होस वा रिक्त रहेको समय बहुउद्धेश्यिय कभर्डहल उनीहरु दिनभर जसो प्रशिक्षण गरिरहेका भेटिन्छन् ।

उनीहरुको तयारी बारे क्लवकी संस्थापक अध्यक्ष सारिका गुरुङ भन्छिन–“हामीले एक दुई टिम हुन्छन् भनेका सोचेका थियौं तर अहिले बढेर १० पुगेको छ । महिलाहरु घरको चुल्हो चौको छोडेर यसरी मैदानमा आउनुहुन्छ जस्तो लागेको थिएन । उहाँहरु सबैको सहभागिताले प्रतियोगिताले भव्य रुप लिने भएको छ ।”

आफ्नो संस्थाले महिलाहरुको विभिन्न माध्यमबाट शसक्तिकरणको उपाय मध्येको एक लागेर नै खेलकुद रोजेको गुरुङले बताइन् । “फाल्तु समयमा मोवाइल र सामाजिक सञ्जालमा विताउन रहर गर्ने महिला दिदी बहिनीहरुलाई मैदान सम्म ल्याउन सफल भएका छौं । अव यो यात्रा निरन्तर जारी रहनेछ”, उनले भनिन् ।

यो त्यही संस्था हो जसले १९ औं एसियाली खेलकुदमा सहभागि हुन जाने महिला राष्ट्रिय ह्याण्डबल टोलीलाई ट्रयाक सुट प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close