
पोखरा स्पोर्टस । जिल्ला र प्रदेशमा रहेका सम्पूर्ण खेल संघहरु, खेल संग सम्वन्धित संस्था/क्लवहरुलाई दर्ता गर्न प्रदेश खेलकुद परिषद गण्डकीले आह्वान गरेको छ ।
परिषदले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गरि सबै खेल संघहरुलाई दर्ताका लागि आह्वान गरेको हो । परिषदले ३५ दिने सूचना प्रकाशित गरि सबै खेल संघहरुलाई दर्ता, अद्यावधिक वा सूचिकरण गर्न सूचना प्रकशित गरिएको परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
राष्ट्रिय खेलकुद विकास ऐन–२०७७, राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९, प्रदेश खेलकुद विकास ऐन–२०७७ को दफा २२, प्रदेश खेलकुद विकास नियमावली–२०७८ को नियम (६),(७),(८) र (१०) ले खेलकुदसंग सम्बन्धित संघहरुको दर्ता, नविकरण र दर्ता खारेज सम्बन्धी व्यवस्था भए अनुसार परिषदले खेल संघ र खेल आयोजना गर्ने संस्था वा क्लवहरुको नियमन गर्न दर्ता, सूचिकरण र अद्यावधिक गर्न सूचना प्रकाशित गरिएको सदस्य सचिव शर्माले बताए ।
प्रदेशस्तरिय खेल संघ भए प्रदेश खेलकुद परिषदमा र जिल्ला खेल संघहरुलाई जिल्ला खेलकुद विकास समितिमा दर्ता/आवद्धता/सूचिकरण/अद्यावधिक नविकरण गर्न प्रकाशित सूचनामा जनाइएको छ ।
सो सूचनामा आ.ब. २०८०/२०८१ भन्दा पहिले दर्ता भई सकेका वा दर्ता हुन बाँकी रहेका यस परिषदको कार्यक्षेत्र भित्र पर्ने र गण्डकी प्रदेशमा रहेका जिल्लाहरुमा विभिन्न खेल संघहरुका प्रदेश र जिल्ला स्तरीय संघहरुले खेल संघ दर्ता भएको भए नविकरणको लागि दर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो आ.ब. २०७९/०८० को लेखा परिक्षण प्रतिवेदन, साधारण सभाको निर्णय र बार्षिक प्रगती प्रतिवेदन पेश गर्न भनिएको छ ।
त्यस्तै दर्ता हुन बाँकी भएको भए संघ दर्ता गर्नका लागि सम्बन्धित खेल संघका खेलाडी, शुभचिन्तकहरुको भेलाको निर्णय खेल संस्था/क्लवहरुको दर्ता/आबद्धता/सुचिकरण/नविकरणको हकमा जिल्ला खेलकुद विकास समितिले तोके बमोजिमको निवेदन र कागजातहरुका साथ प्रदेश स्तरीय खेल संघले यस परिषदमा र जिल्ला स्तरीय खेल संघहरुले सम्बन्धित जिल्ला खेलकुद विकास समितिमा पेश गर्नु पर्ने सूचनामा जनाइएको छ ।
यसै गरि परिषदले प्रशिक्षक, रेफ्रि, निर्णायक, र जजहरु सूचिकरणका लागि थप ३५ दिन भित्र दर्ताका लागि पुनः सूचना प्रकाशित गरेको छ ।