
पोखरा स्पोर्टस । गण्डकी प्रदेश भलिबल संघको कार्यसमितिका रविन कुमार् केसी र पूर्ण बहादुर गुरुङ ‘जापान’लाई मनोनित गरेको छ ।
संघको बुधबार साँझ अवेर गरि सम्पन्न १३ औं बोर्ड बैठकले उनीहरुलाई रिक्त कार्यसमिति सदस्यमा मनोनयन गरेको हो । कार्यसमितिमा मनोनित स्याङजाका केसी पूर्व राष्ट्रिय भलिबल खेलाडी हुन् भने गुरुङ कास्की माछापुच्छ्रे गाउँपालिका कास्कीका हुन् । संघबाट दुई जना कार्यसमिति सदस्य रमेश श्रेष्ठ र गंगा केसीले राजिनामा दिए संगै पद रिक्त रहेको थियो ।
यसै गरी बैठकले संखुवासभाको खाँदबारीमा हुने नेपाल भलिबल संघको साधारण सभामा गण्डकी प्रदेशबाट महासचिव टहल सिंह थापा मगर र कार्यसमितिका सदस्य राजेन्द्र जिशीलाई प्रतिनिधिको रुपमा पठाउने निर्णय गरेको छ ।
बैठकले यहि भदौ ३० गते देखि असौज १ गते सम्म लामाचौर तिज महोत्सव अन्तर्गत आयोजना हुने राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताका लागि यहि भदौ ८ गतेबाट बन्द प्रशिक्षणमा राख्ने निर्णय समेत गरेको संघका अध्यक्ष नविन कुमार गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिएका छन् ।
तिन साता लामो बन्द प्रशिक्षणमा टिमले उत्कृष्ट नतिजा ल्याउने गरि तयारी गर्न संघले निर्णय समेत गरेको बताउँदै अध्यक्ष गुरुङले भने–“हामी आफ्नै प्रदेशको आगंनमा सञ्चालन हुन गइरहेको उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरी भिड्दै छौं । यो पटक गण्डकी प्रदेशको टिमले दर्शकहरुलाई निराश बनाउने छैन । हामी त्यसका लागि प्रतिवद्धता समेत गरेका छौं ।”
लामाचौर राष्ट्रिय भलिबल प्रतियोगिताका लागि कार्यसमितका सवै सदस्यहरुलाई आ–आफ्नोतर्फबाट सहयोग रकम संकलन गर्न समेत निर्णय भएको बताउँदै अध्यक्ष गुरुङले विगतमा टिममा देखिएका कमजोरीहरु सुर्धान समेत ध्यान दिइने बताएका छन् ।
बैठकले ‘लौ आयो भलिबल’ गितलाई प्रवर्द्धन गर्न नेपाल भलिबल संघमार्फत सम्पूर्ण जिल्लाहरुलाई पत्रचार गर्ने निर्णय गर्नुका साथै हालै नेपाल भलिबल संघमा सल्लाहकारमा मनोनयन भएका पूर्व राष्ट्रिय भलिबल खेलाडी हरिप्रसाद पराजुली र टाइग ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्मालाई बधाईसहित शुभकामना दिने निर्णय भएको अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई बताए ।
बैठक तथा सम्मान कार्यक्रममा आफ्ना भनाई राख्दै संघका अध्यक्ष गुरुङले प्रदेशको भलिबल विकासका लागि संघ एकजुट रहेको उल्लेख गर्दै विगतमा प्रदेशको भलिबल टिममा देखिएका कमजोरीहरुबाट पाठ सिक्नुपर्ने कुरा औंल्याए छन् । उनले भने–“हाम्रो लक्ष्य नै उपाधि हो । हामीले हालै सम्पन्न किङ्स कपमा कमजोर प्रदर्शनका कारण उपाधि गुमायौं । अब त्यो हुने छैन । भलिबलकै प्रतिष्ठित व्यक्तित्वहरु समेत सल्लाहकारको रुपमा गण्डकीबाट पाएका छौं । उहाँहरु गण्डकीकै प्रतिनिधित्व गर्नु हुने भएकोले पनि हामीलाई मार्गदर्शन गर्नुहुनेछ र हाम्रा गल्ति कमजोरीहरु औंल्याइदिुनुहुने छ ।”
अध्यक्ष गुरुङले पुरुष टिमलाई बलियो बनाउँदै महिला भलिबल खेलाडी उत्पादनमा समेत संघले ध्यान दिने बताए ।