पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको भेन्यु बनाउनु पर्छ–अध्यक्ष चन्द

पोखरा स्पोर्टस । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरा बहादुर चन्दले पोखरालाई अन्तर्राष्ट्रिय क्रिकेटको भेन्यू बनाउनु पर्नेमा जोड दिएका छन् ।

https://www.youtube.com/watch?v=cgF9MpMcQPQ

गण्डकी प्रादेशिक क्रिकेट संघको दोश्रो अधिवेशन तथा साधारण सभाको उद्घाटन अवसरमा उनले उक्त कुरामा जोड दिएका हुन् । पोखरालाई अन्तर्राष्ट्रिय भेन्यु बनाउन सकिने बताउँदै उनले आवश्यक पेभेलियन, चेन्जिङ रुम, व्यवस्थित शौचालय तथा भीआईपी बस्ने ठाँउ बनाउनुपर्नेमा बताए । उनले भने–“धेरै खर्च गर्नु भन्दा पनि सानो खर्चले हामीले तयारी गर्न सक्छौं तर यसका लागि प्रतिवद्धताको खाँचो छ ।”

क्यानको चुनावी सरगर्मी समेत बढिरहेको बेला अध्यक्ष चन्दले आफू संघको नेतृत्वमा आए पोखरालाई काठमाडौं पछिको दोस्रो अन्तरर्राष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता समेत व्यक्त गरे । उनले पोखरालाई अन्तरर्राष्ट्रिय भेन्यु बनाए संगै भैरहवामा समेत लिग–२ आयोजना गर्ने गरि आफूले योजना बनाउने समेत उल्लेख गरे ।

क्रिकेटको विकास अब कछुवाको गतिले नहुने दावी गर्दै भने– ‘क्रिकेटले देश चिनाएको छ । विश्वकप खेल्ने अवस्थामा पुगिसकेका छौं । अब कछुवा गतिको क्रिकेट गतिविधिले हुदैन ।” राजनीतिक दलको पनि क्रिकेटप्रति हेर्ने दृष्टिकोणमा समेत समानता आएको बताउँदै राजनितिक दलहरु पनि क्रिकेटको विकासमा सहयोग गर्नुपर्ने भन्ने मानसिकतामा रहेको उनको भनाई थियो ।

आईसिसीले उपलब्ध गराउने १७ करोड बजेटको ५५ प्रतिशत पुरुष सिनियर टोलीमा खर्च भएको कारणले पनि नेपाली क्रिकेटको विकासले गति लिएको बताए । उनले आगामी तिन वर्षमा आयोजना हुने यू–१९ महिला वर्ल्ड कपमा नेपालको सहभागिताका लागि तयारी गर्नुपर्ने औंल्याउँदै पोखरा र काठमाण्डौमा भेन्यू तयारीका लागि समेत आवश्यक पहल गर्नुपर्ने औंल्याए ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्षले अधिवेशनको उद्घाटन गर्दै परिषदले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि अध्ययन भइरहेको बताउँदै नेपाललाई चिनाउन क्रिकेट खेलको महत्वपूर्ण योगदान रहेको बताए ।

अधिवेशनमा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुख घनश्याम पौडेलले खेलकुदमा संस्थागत विकासको आवश्यकतामा जोड दिए ।

कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य ऋषीराम गौतम, पूर्व प्रशिक्षक जगत टमटा, खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सन्जयकान्त सिग्देललगायतले पोखरालाई खेल पर्यटनको रुपमा विकास गर्न तथा पोखरामा यु–१९ विश्वकप खेलाउने मैदानको रुपमा तयार गर्नु पर्नेमा जोड दिएका थिए ।

उद्घाटन कार्यक्रम गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुको अध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close