
पोखरा स्पोर्टस । पोखरा क्रिकेट एकेडेमीले राष्ट्रिय महिला ह्याण्डबल टोलीलाई टिशर्ट प्रदान गरेको छ । १९ औं एसियाली खेलकुदको पूर्व तयारीका बन्द प्रशिक्षणमा रहेको टोलीलाई एकेडेमीले खेलाडी प्रशिक्षकहरुलाई गरी १८ थान टिशर्ट प्रदान गरेको हो ।
पोखरा रंगशालामा शुक्रबार आयोजित एक कार्यक्रमका विच एकेडेमीका उपाध्यक्ष सन्तोष श्रेष्ठ, कोषाध्यक्ष चन्द्र गुरुङ ‘जिम्मी’, गण्डकी क्रिकेटका टेक्निकल प्रमुख रिजन प्रजु र होटल मर्करी पोखराका सञ्चालन मोतिराम पौडेलले खेलाडीहरुलाई टिशर्ट हस्तान्तरण गरेका थिए ।
सो अवसरमा एकेडेमीका उपाध्यक्ष श्रेष्ठले खेलाडीहरुको उत्साह बढाउन आफूहरुले खेलाडीहरुलाई सानो उपहार स्वरुप टिशर्ट हस्तान्तरण गरेको बताए । एकेडेमीका कोषाध्यक्ष जिम्मी गुरुङले खेलाडीहरुलाई उच्च मनोबलका साथ १९ औं एसियाली खेलकुदमा सहभागिता जनाउन आग्रह गरे ।
एकेडेमीले पोखरामा यूवा क्रिकेट खेलाडी उत्पादन संगै विभिन्न सामाजिक क्रियाकलापमा सहयोग संगै सहकार्य गर्दै आएको छ । एकेडेमीले हालै एन्फा गण्डकी प्रदेश र बगर भाइ खलकलाई फुटबल प्रदान गरेको थियो ।
१९ औं एसियाली खेलकुदमा सहभागि खेलाडी तथा प्रशिक्षकलाई उनीहरुको उत्साह बढाउन सहयोग गरेकोमा नेपाल ह्याण्डबल संघका सचिव तथा प्रदेश खेलकुद गण्डकीका सदस्य केशव पाठकले एकेडेमी प्रति आभार व्यक्त गरेका थिए ।
एसियाली खेलकुदको पूर्व तयारीका लागि बन्द प्रशिक्षणमा रहेको टोलीमा उमा राई, आइत ल्याह्मु शेर्पा, कल्पना सिंजाली, विमला तामाङ, कल्पना ओली, रमिला बस्नते, देवी श्रेष्ठ, ममता राना, अदिती चौधरी, संगिता चौधरी, बिमला भुजेल, सञ्जु राई, राम कुमारी चौधरी, सम्झना कुमाल, हेलिना राना तथा टिम कप्तानमा बन्दना राई रहेका छन् । त्यसै गरी टिम प्रशिक्षकमा विन्दा थापा र दिपक सिंह बोहरा रहेका छन् ।
चिनको होङझावमा २०२३ सेप्टेम्वर २२ देखि अक्टोबर ८ सम्म आयोजना हुने १९ औं एसियाली खेलकुदमा नेपालले आफ्नो पहिलो खेल आयोजक चिन संग खेल्नेछ । त्यसै गरि जापान, हङकङ र भारत संग नेपालले १९ औं एसियाली खेलकुदमा सामना गर्नेछ ।