‘योगेन्द्र शेरचन’–परम्परागत ताराबाट एसियाडको आधुनिक आर्चरीको मैदान सम्म

केशव पाठक/पोखरा स्पोर्टस । ११ वर्षको उमेरमा विद्यालयको झोला संगै तारा खेल्न धनुष काणसहित मैदानमा देखा पर्ने योगेन्द्र शेरचन अव १९ औं एसियाडको महाकुम्भमा नेपाली झण्डा फहराउन आतुर छन् । “मेरो सपना थियो एसियन गेम्स खेल्ने, त्यो अब पुरा भएको छ”–५२ वर्षिय योगेन्द्र भित्रको उत्सुकता उत्तिकै छ उनको त्यो भनाईमा । चिनको होङझावमा यहि वर्षको सेप्टेम्वर २२ देखि अक्टोबर ८ सम्म आयोजना हुने हुने १९ औं एसियाली खेलकुदमा योगेन्द्रले नेपाली आर्चरीको कलालाई शिखरमा पुर्‍याउन अहिले प्रशिक्षणमा व्यस्त छन् । 

आफनी छोरी अनुष्का साथमा १३ औं सागमा पदकका साथ
आफनी छोरी अनुष्का साथमा १३ औं सागमा पदकका साथ

हिमाल पारीको जिल्ला मुस्ताङका उनी आफ्ना जिजु बाजेहरुको पाइला पछ्याउँदै तारा (परम्परागत आर्चरी) खेलमा छिरे । उनको उमेर थियो जम्मा ११ वर्ष । गाउँको सानो फुच्चेको प्रहार सटिक थियो की उनी त्यती बेलाबाटै सबैको हाइ–हाई भए । खोल हान्नेमा त उनी उत्तिकै सिपालु । उनको बेजोड क्षमतामा सबै नतमस्तक हुन्थे । ति दिनहरु संगाल्दै उनको भावना यसरी छचलकिन्छ अलिकति हाँसो अनि सम्झनामा डुब्दै उनी भन्छन्–“यति मायाँ पाउँथे कि खाजा खान कहिल्यै आफ्नो गोजी छाम्नु परेन ।” उनको उत्कृष्टतामा दङ्ग परेर उनलाई खाजा खाना ख्वाउन संधै तानातानमा पर्थे ।

थकाली परिवारमा तारा खेल उत्तिकै महत्वपूर्ण मानिन्छ । सदिंयौं देखि खेलिंदै आएको तारा खेलबाट आधुनिक आर्चरी मैदानमा छिरेका योगेन्द्रलाई कहिल्यै पछि फर्किएर हेनु परेको छैन । न तउनी सुस्ताए छन् । न त थाकेका । उनले लामो समय देखि एसियाडमा खेल्ने आफ्नो सपनालाई साकार रुप दिन तयार छन् । तर एसियाली आर्चरीमा नेपालले पदक जित्नु ओलम्पिकमा जित्नु सरह मानन्छन उनी । किनभने विश्व वरियतामा आर्चरी खेलमा एसियाली देशहरुकै वर्चश्व छ । कोरिया, जापान, भारत, वंगालादेश, भुटान, इन्डोनेशिया, सिङ्गापुर, थाइल्याण्डलगायत मुलुकलाई छिचोल्न नेपाललाई त्यती सहज भने छैन ।

२ छोरी, १ छोरा र श्रीमती सहित पोखरा ११ रानीपौवा बस्दै आएका उनी १२ कक्षा पढ्दा–पढ्दै जापान हानिए । ९ वर्ष विताए । नेपाल फर्किए । २०५८ सालमा उनी नेपाल फर्किए संगै फेरी आर्चरीकै मैदानमा होमिए । आधुनिक आर्चरीका उनका गुरु थिए वरिष्ठ प्रशिक्षक किशोर कुमार गुरुङ । उनी प्रशिक्षक गुरुङद्वारा उत्पादित पहिलो व्याचका खेलाडी समेत हुन् । उनले त्यस संगै गाउँ मुस्ताङ थासाङ समेत तारा खेलको विंडो सम्हाले । आफ्नो गाउँको टिमलाई उपाधि जिताए । तिन वर्ष लगातार उनको त्यो यात्रामा आफ्नो गाउँको क्लव च्याम्पियन बनाउन तिर लागे । २०६० सालमा कास्की आर्चरी संघ गठन भयो । उनी संस्थापक सहसचिव बने ।

२०६२ सालमा प्रथम राष्ट्रिय आर्चरी च्याम्पियनसिप प्रतियोगिता रिकर्भ इभेन्टमा उनले व्यक्तिगत तर्फ रजत र टिम इभेन्टमा समेत रजत पदक जिते । सन २००६ ढाकामा प्रथम दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा टिम इभेन्टमा काश्य पदक जिते । त्यही पदक नै नेपालको लागि पहिलो अन्तर्राष्ट्रिय ऐतिहासक पदक थियो । 

नेपाली आर्चरी खेल मैदानमा छाएका योगेन्द्र आर्चरीको खेलाडी, व्यवस्थापक र प्रशिक्षक तिन वटै भूमिकामा आफूलाई उभ्याउने मध्ये एक हुन् । सान २००८ भारतमा भएको दोश्रो दक्षिण एसियाली आर्चरी च्याम्पियनसिपमा उनले राष्ट्रिय प्रशिक्षकको भूमिका निर्वाह गरे । उनले २००७ मा जज कोर्ष समेत लिइसकेका थिए । पाँचौ राष्ट्रिय खेलकुदमा उनले एसिसटेन्ट चिफ जज रहे । छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुदमा उनले टुर्नामेन्ट डाइरेक्टरको भूमिका खेले ।

आठौं राष्ट्रिय खेलकुद समापन भए संगै उनी पुनः खेलाडीको रुपमा मैदानमा छिरे । सन २०११ कोरियामा सम्पन्न वर्ल्ड ट्रेडिसनल आर्चरी फेस्टिभलमा उनले नेपालको प्रतिनिधित्व गरे भने २०७७ मा भएको इनडोर आर्चरी च्याम्पियनसिपमा उनी सहभागि बने । त्यस लगतै उनी १२ औं दक्षिण एसियाली खेलकुदमा सहभागि रहे । सन २०१७ ढाकामा भएको ग्राण्ड पिक्स आर्चरी च्याम्पियनसिपमा उनले राष्ट्रिय प्रशिक्षक हुँदै नेपाली टिमलाई सम्हाले । उनी आर्चरी खेलमा निरन्तर उत्कृष्ट प्रशिक्षकको भूमिकाको सम्मानमा २०६६ सालको पल्सर स्पोर्टस अवार्डमा उत्कृष्ट प्रशिक्षकको मनोनयनमा समेत परे । उनी आफ्नो त्यस यात्रामा जिल्ला र क्षेत्रिय खेलकुद तथा विभिन्न संघ संस्थाबाट सम्मानित समेत भए ।

नेपालमा नै २०१९मा सम्पन्न भएको १३ औं दक्षिण एसियाली खेलकुदमा आफ्नै घरेलु मैदान पोखरामा उनले कम्पाउण्ड टिम इभेन्टमा काश्य पदक जिते । उनले सोही वर्ष राष्ट्रिय जज कोर्ष समेत पुरा गरे । दुई कार्यकाल नेपाल आर्चरी संघको कार्यसमित सदस्य समेत रहेका उनी दोश्रो पटक सचिव पदमा आसिन छन् भने कास्की आर्चरी संघको दोश्रो कार्यकाल अध्यक्षको रुपमा कार्यरत छन् । त्यसै गरी उनी प्रदेश खेलकुद परिषद गण्डकीको सदस्य समेत रहेका छन् ।

योगेन्द्र आफै मात्रै होइन परिवारका सदस्यलाई समेत आर्चरीको मैदानमा उत्तिकै प्रखररुपमा उभ्याएका छन् । उनको बैनी शान्तीलाई पाँचौ राष्ट्रिय खेलकुदमा २–२ वटा स्वर्ण पदक जिताउन भूमिका खेले । उनका छोरा अनिपले आफ्नै पिता योगेन्द्रको पाइला पछ्याउँदै २०६९ सालमा १२ वर्षको उमेरमा नै इन्डोर नेशनल आर्चरीमा काश्य पदक जिते । योगेन्द्रकी कान्छी छोरी अनुष्का समेत १२ वर्षको उमेरमा नै स्वर्ण पदक जितेकी छन् आठौं राष्ट्रिय खेलकुदको स्टाण्डर्ड क्याटोगरीमा । नवौं राष्ट्रिय खेलकुदमा मिक्स टिमतर्फ अनुष्काले रजत पदक जितेकी थिइन् भने टिम इभेन्टमा काश्य पदक गरी नेपालका लागि महत्वपूर्ण २ पदक जित्न भूमिका खेलेकी थिइन् । अनुष्काले ११ औं राष्ट्रिय आर्चरी च्याम्पियनसिप प्रतियोगितामा व्यक्तिगत र मिक्स टिममा २ स्वर्ण जितेकी छन् ।

योगेन्द्रले आफ्नो बाल्यकालको शिक्षा गाउँकै विद्यालयमा लिए पनि २०४२ सालमा उनले नवप्रभात मावी पोखरामा अध्ययन गरे । तर उनको मन यता जागेन । उनी गाउँनै फर्किए । एसएलसी उर्तिण गरे संगै पिएन क्याम्पस पोखरामा भर्ना भए । तर उनको अध्ययन पुरा हुन सकेन । दोश्रो वर्षमा नै उनी जापान छिरे । २०५८ सालमा पोखरा फर्किए । २०६१ सालमा उनले व्यवसायमा हात हाले । पोखरामा पहिलो पटक डिजिटल रिर्कडिङ स्टुडियो खुले । पाँच वर्ष पोखरामा माइक्रो नगरवस समेत सञ्चालन गरे । उनले पोखरामा केही वर्ष पेय पदार्थ कोकको समेत डिलर सञ्चालन गरे । वोरिङ खानेपानी सञ्चालन गरे । पछिल्लो २२ वर्षमा व्यवसायमा सफलता हात नलागे पनि आर्चरीले दिएको सफलतामा उनी खुसी छन् ।

आफ्नो सफलताको श्रेयमा योगेन्द्रले आफ्नो धर्मपत्नी मोनिकाको निरन्तर साथ र सहयोगलाई बिर्सन सक्दैनन् । उनले आर्चरीको सफलतामा भूमिका खेल्ने नेपाल प्रहरीका पूर्व एआइजी रामकाजी बान्तवा, प्रशिक्षक किशोर कुमार गुरुङ र हरिधोज तुलाचनलाई बिर्सन चाहन्नन् । नेपाली आर्चरी खेलको विकासमा खेलाडी, व्यवस्थापक, आयोजक, प्रशिक्षक तथा रेफ्रि गरीे चौतर्फी भूमिकामा रहेका योगेन्द्र त्यसको एक हिस्सा हुन पाउनुमा गर्व गर्छन् । उनी भन्छन्–“यो २२ वर्षमा निरन्तर विभिन्न भूमिकामा रहेर नेपालको आर्चरी खेलको विकासमा योगदान गर्न पाउँदा गर्वित छु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close