पोखरामा क्रिकेट अम्पायरिङ्ग ‘ओ लेभल कोर्ष’ प्रशिक्षण सम्पन्न

पोखरा स्पोर्टस । पोखरामा दुई दिने ‘ओ लेभल’ क्रिकेट अम्पायरिङ्ग तथा स्कोरिङ तालिम सम्पन्न भएको छ ।

क्रिकेट खेललाई थप विश्वासिलो र प्रभावकारी बनाउन उक्त तालिम सञ्चालन गरिएको हो । प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजना तथा प्रदेश क्रिकेट संघको व्यवस्थापनमा उक्त तालिम सम्पन्न भएको हो ।

दुई दिने तालिममा सहभागिता जनाएका अम्पाएहरुलाई परिषदका सदस्य सचिव श्रीधर शर्मा, कार्यकारी सदस्य तथा क्यानका केन्द्रिय सदस्य ऋषीराम गौतमलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

सो अवसरमा बोल्दै सदस्य सचिव शर्माले अनुशासित र मर्यादित खेलकुदका लागि यस प्रकारका तालिम महत्वपूर्ण हुने जनाउँदै परिषदले क्रमिक रुपमा संघहरुको समन्वयमा तालिम कार्यक्रमहरु सञ्चालन गरिने बताए ।

सहभागिहरुलाई आइसिसी अम्पायर दुर्गा सुवेदी र विनय झाले प्रशिक्षण दिएका थिए ।

तालिममा गण्डकी प्रदेशका नवलपुर, तनहुँ, स्याङजा, कास्की, पर्वत र बागलुङ जिल्लाका महिला र पुरुष गरी ४० जनाको सहभागिता जनाएका थिए । समापन कार्यक्रम प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजुको अध्यक्षतामा भएको थियो । 

५६ वर्षको उमेरमा गौतमले लिए तालिम

ऋषीराम गौतम खेलकुदमा निकै भिजेका व्यक्तित्व हुन् । उनी नेपाल क्रिकेट संघको केन्द्रिय सदस्य संगै प्रदेश खेलकुद परिषदका कार्यकारी सदस्य समेत हुन् । निर्माण व्यवसायको पेशा संगै खेलकुदमा आवद्ध गौतमले ५६ वर्षको उमेरमा ओ लेभलको क्रिकेट अम्पायरिङ तथा स्कोरिङको तालिम लिएका छन् ।

दुई दिने तालिम पश्चात प्रमाणपत्र ग्रहण गर्दै गौतमले भने–“म खेलकुदमा उमेरको ख्याल गर्दिन । मैले खेलकुदबाट धेरै सिकेको छु । यो ओ लेभलको तालिम पनि त्यसैको एक भाग हो ।” खेलकुदले आफूलाई कहिल्यै थाक्न नसिकाउने बताउँदै सिकेको कुराहरु व्यवहारमा लागु गर्न आफू संधै तयार रहेको समेत जनाए ।

“यो पनि सिकाईको एक पाटो हो । जिवन नयाँ कुरा सिक्ने र सिकाउने माध्यम हो ।” गौतमले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close