
पोखरा स्पोर्टस । कास्की जिल्लास्तरिय तेक्वान्दो प्रतियोगिता पोखरामा सुरू भएको छ । कास्की जिल्ला तेक्वान्दो संघको आयोजना तथा पोखरा महानगर खेलकुद विकास समितिको सहयोगमा उक्त प्रतियोगिता सुरू भएको हो ।
दुई दिन सम्म सञ्चालन हुने प्रतियोगिताको पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपक बहादुर गोदारले शुभारम्भ गरेका छन् । उनले मार्शल आर्ट खेलको विकासमा तेक्वान्दो खेलको महत्वपूर्ण स्थान रहेको बताउँदै यस प्रकारका प्रतियोगिताले खेलाडीको पहिचान र उत्पादनमा ठूलो सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।
प्रतियोगिता अन्तर्गत पुरुष तर्फ ५३ र महिलातर्फ ५९ गरी १ सय १२ जना खेलाडीहरुको सहभागिता रहेको कास्की तेक्वान्दोका अध्यक्ष कुमार गुरुङले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“हामी सानो आकारको बजेटमा यो प्रतियोगिता सञ्चालन गरेका हौं । यसले क्षमतावान खेलाडीहरुको पहिचान संगै उनीहरुलाई भविष्यमा थप प्रशिक्षण गरी राष्ट्रिय खेलाडीको रुपमा अघि बढाउन सहज हुनेछ ।”
प्रतियोगितामा पुरुषतफै ८ र महिलातर्फ ८ गरी १६ विभिन्न तौलमा प्रतिस्पर्धा भइरहेको कास्की तेक्वान्दोका बोधराज गिरीले बताए ।
प्रतियोगितामा बिजेता खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । प्रतियोगितामा कास्कीका विभिन्न ३१ डोजाङ तथा स्कुलका खेलाडीहरुले सहभागिता जनाएका छन् ।
उद्घाटन कार्यक्रममा जिल्ला तेक्वान्दो संघका सल्लाहकार सुनिल गुरुङ, सल्लाहकार राजु श्रेष्ठ, नेपाल तेक्वान्दो संघका उपाध्यक्ष हरिश्वर पोख्रेल, गण्डकी तेक्वान्दोका महासचिव रमेश पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिकी सचिव कन्चन थापा कोइराला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष राजन पौडेल, कास्की तेक्वान्दोका उपाध्यक्ष कुलचन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।
खेलको पहिलो दिन पहिलो चरणका खेलहरु जारी रहेको अध्यक्ष गुरुङले पोखरा स्पोर्टसलाई जानकारी दिए ।