
पोखरा स्पोर्टस । पोखरामा सम्पन्न ओलम्पियनहरुको पूर्नमिलन कार्यक्रमले नेपाली ओलम्पियनहरु निकै उत्साहित भएको नेपाल ओलम्पियन संघका अध्यक्ष दिपक विष्टले जनाएका छन् ।
अध्यक्ष विष्टले आइतबार पोखरा स्पोर्टस संग कुरा गर्दै नेपाली खेलकुदको इतिकास बोकेका अग्रजहरुको पूर्नमिलनले उत्साहित भएको बताएका हुन् । यहि जेठ १९ देखि २१ गते सम्म पोखरामा सम्पन्न दोश्रो ओलम्पियन पूर्नमिलनले आफ्नो जिवनको उतरार्द्धमा यसरी पूर्नमिलन हुनु विश्वमानै नयाँ सन्देश गएको गएको अध्यक्ष विष्टले बताए । “यहाँ पोखरामा मात्रै कार्यक्रम भएको छैन । यो कार्यक्रमले विश्वकै ध्यान आर्कषित गरेको छ । नेपाली ओलम्पियनहरुको पूर्नमिलन कार्यक्रम नयाँ विश्लेषण सहित विश्वको खेलकुदमा चर्चाको विषय बनेको छ”-उनले भने ।
सानो संस्था र आफ्नै खर्चमा स्थापना भएको ओलम्पियन संघले यस्तो ठूलो वृहद् कार्यक्रम आयोजना गर्नु चुनौतीको विषय रहेको बताउँदै अध्यक्ष विष्टले ओलम्पियनहरुको पूर्नमिलन कार्यक्रम अभियानको रुपमा अघि बढने बताए । उनले भने–“यो कार्यक्रम निकै भव्य रुपमा सम्पन्न भएको छ । राम्रो ठाउँमा राम्रो कामको सुरुवात भएको छ । यसमा प्रदेश सरकार, प्रदेश खेलकुद परिषद, पोखरा महानगर पालिकाकाले ठूलो सहयोग गरेका छन् । यसका लागि म आभार व्यक्त गर्न चाहन्छु ।”
पोखरामा भएको कार्यक्रमले सबै संग भेट हुने मौका मात्र जुराएको नभई यसले नेपाली खेलकुद विकासका लागि समेत नयाँ आयाम थपेको चर्चा गर्दै खेल विकासका लागि समेत नयाँ ढोका खुलेको अध्यक्ष विष्टले बताए । समाजले नेपाली खेलाडीलाई दिएको योगदानलाई विर्सन नहुने तर्फ इंगित गर्दै यस्तै अभियानहरुले नै नेपाली खेलकुदको क्षेत्रलाई चलायमान बनाउन समेत महत्वपूर्ण हुने विश्वास लिएको उल्लेख गरे । “हामी पुरानो खेलाडी हौं भनेर घरमा नै थन्किने होइन । समाजलाई खेलकुदको बाटो देखाउने काम पनि हाम्रो हो । त्यसलाई अझै उत्साहका रुपमा अघि बढाउने हाम्रो उद्धेश्य समेत हो”-उनले भने ।
पूर्नमिलन कार्यक्रमले नेपाली समाजलाई खेलकुदमा डोर्याउने योजना अघि सारेको बताउँदै अध्यक्ष विष्टले अब गण्डकीमा स्कुल टु ओलम्पिक कार्यक्रमलाई सार्ने योजना अघि बढाउने बताए । उनले स्कुल टु ओलम्पिक कार्यक्रम कार्यक्रमलाई नयाँ पुस्तामा खेलकुदको नयाँ सन्देश दिने गरी अघि बढ्ने बताए ।