जिवनलाई फर्किएर हेर्दा–भलिबलका ‘बिनोद’

केशव पाठक/पोखरा स्पोर्टस । हिमालपारीको जिल्ला मुस्ताङ । जिबन अलिक कठिन छ । यातयातमा केही सुधारका लक्षणहरुले कोल्टे फेर्दै छ । यहि बसेर भलिबल खेलको विकासका लागि ध्यानमा ब्यस्त छन भलिबलका पूर्व राष्ट्रिय खेलाडी ५० वर्षिय बिनोद तुलाचन ।

मुस्ताङ थासाङ गाउँपािलका ३ का स्थायी बिनोदमा कुनै गम छैन । न त आफ्नो जिवनका भोगाईहरुमा कुनै पिडा । उनी जिवन संग खुसी छन् । आफैमा मस्त छन् । म्याग्दीमा जन्मिए पनि उनको पुर्खौली भने उतै थासाङ लेते हो ।

लेते थकालीहरुको सानो तर खुसी र सुखी गाउँ । चारैतिर हिमालका सेता टाकुराहरुले स्वागत गरिरहेका । सल्लोका रुखहरुको हरियाली अनि त्यसको मिठो सुगन्धले स्वागत गरिरहेको भान हुन्छ । बिनोद त्यहीँ बसेर आफ्नो जिल्लामा भलिबल बिकासका योजनाहरुको तानाबाना बुन्न व्यस्त छन् । आफ्नो सुखी र परिवारका साथ ।

उनी त्यहीँको ज्ञानोदय मावीमा पढे । कक्षा ८ बाटै भलिबलमा लागे । भलिबलमा लाग्नुको पछाडीको बास्तविकता भने उनको कद हो । ६.२ फिट अग्ला बिनोदको कदका कारण उनका खेल शिक्षकले भलिबलमा लाग्ने प्रेरणा मिल्यो ।

बिनोदले विद्यालयस्तरका केही प्रतियोगिताहरुमा सहभागिता जनाए । २०४९ सालमा पहिलो पटक विरेन्द्रशिल्ड प्रतियोगितामा तत्कालिन पश्चिमाञ्चलबाट सहभागिता जनाए । फाइनलमा पश्चिमाञ्चाल पहिलो भयो । उनको योगदान महत्वपूर्ण थियो । हुनत उनले २०४८ तत्कालिन पश्चिमाञ्चल टिममा नै समावेश थिए । उनले सोही वर्ष धौलागिरी अञ्चलबाट समेत जनकपुरमा भएको एक प्रतियोगितामा सहभागि बने । २०५० सालमा नेपाली अन्य यूवा झैं जर्मनीतिर बैदेशिक रोजगारमा छिरे ।

नेपाल फर्किए संगै उनको आफ्नो भलिबलको ‘प्यासन’लाई निरन्तरता दिन तिर लागे । ब्यवसाय संगै घर ब्यवहार सम्हाल्ने तिर लागे । प्रभा संग बिहेबारी संगै जिवन संगिनीको साथमा अहिले पनि भलिबललाई परिवार जस्तै माया गर्ने बिनोदका तिन छोरी र एक छोरा छन् । मुस्ताङमा उनको भेडी गोठ छ । लेतेमा होटल छ । पाँचजनालाई रोजगार दिएका छन् । जिवन कसरी चलिरहेछ भन्दा उनी मुस्कुराउँदै भन्छन्–“यस्तै त हो । चलिरहेछ ।” उनले हाँस्दै जवाफ फकाउँछन् ।

बिनोद सरल छन् । जती कद उनको अग्लो छ । ब्यवहार पनि उस्तै मिठो र शान्त । उनी जिल्ला खेलकुदको उपाध्यक्ष समेत बनेर खेलविकासका केही गती दिन लागी परे २०७० सालमा । तर मुस्ताङमा खेललाई गति दिनु भनेको फलामको चिउरा जस्तै लाग्छ उनलाई । न त यहाँ प्रशिक्षक छन् । न त खेलकुदमा लगानी । तर उनी त्यसलाई चिर्न चाहन्छन् । उनले मुस्ताङमा विभागिय टिम सहितको राष्ट्रिय प्रतियोगिताको योजना बुनेका छन् । पूर्वाद्धारको तयारी संगै सहयोग गर्नेहरुको लिष्ट पनि तयारी गरेका छन् । अहिले जिल्ला भलिबल मुस्ताङको अध्यक्षमा उनी पदाशिन छन् ।

कक्षा ८ पढ्दा उहिले सिपाहीहरुले लगाउने जुता ‘मिलेटरी जुता’ लगाएर खेलेको आज पनि झल्झल्ती सम्झना छ । “कहाँ अहिलेको जस्तो सहज थियो र ?” उनी प्रश्न गर्छन–“हामीले त जुता पाउनै मुस्किल थियो तर अहिले धेरै कुराको सहजता छ ।” उनले मुस्ताङ बासीलाई भलिबल केहो भन्ने चिनाउन अझै बढि आवश्यक रहेको बताउँछन् । उनी भन्छन्–“एउटा विभागिय टिमहरुसहितको ठूलो पुरस्कार राशीको प्रतियोगिता गर्न पायो भने त्यसले केी परिवर्तन ल्याउने छ ।” त्यसका लागि कोष बनाउने योजना समेत रहेको उनले बताए ।

भलिबल खेल विकासका लागि मुस्ताङकै पाँच वटा पालिकाहरुमा खेल प्रशिक्षकहरु भयो भने यसले अझै गति लिने उनको विश्वास छ । उनले यसका लागि धेरै ठाउँ गुहारेका छन् । सुझाव दिएका छन । तर टुङ्गो भने लागेको छैन ।

बिनोद यहाँको कठिन जिबनको भोगाई संग निराश छैनन् । तर निकै आशावादी छन् । नेपालको राष्ट्रिय खेल भलिबललाई मुस्ताङमा स्थापित गर्न आफ्ना पाइलाहरुलाई निरन्तरता दिन खोज्दैछन् । खेलाडीलाई खेलकुद संगै रोजगारको सुविधा भयो भने अझै सुनमा सुगन्ध हुने भनाईलाई आत्मसाथ गर्नमा उनी व्यस्त छन् । “आफू जास्ते विदेशीनु नपरोस । खेलाडीको भविष्य सुनिश्चित होस । मेरो जोड यसमा हो”–उनी भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close