टियु क्रिकेट खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने

पोखरा स्पोर्टस ।  नेपाल सरकारले टियु खेल मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने जनाएको छ ।

वर्ष २०८०/०८१ का लागि बजेट विनियोजनका बारेमा दुवै संसदलाई सम्वोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले सो कुरा जनाएका हुन् । टियु मैदानमा फल्ड् लाइटको ब्यवस्था लगायतका निर्माणकार्य गरिने भएको छ ।

यस्तै मुलपानी क्रिकेट खेल मैदान सम्पन्न गर्ने गरी बजेट छुट्टाइएको उनले बताए ।

विराटनगरको गिरिजा प्रसाद कोइराला क्रिकेट स्टेडियम, बैतडीको दशरथचन्द रंगशाला, कैलालीको फाप्ला क्रिकेट रंगशाला र काठमाण्डौको सूवर्ण सम्शेर रंगशाला निर्माण कार्यलाई समेत सरकारले बजेट व्यवस्था गर्ने भएको छ ।

यसै गरि साझेदारीमा हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका साथै र्‍याफटिङ, क्यानोइङ, प्याराग्लाइडिङ, रक क्लाइम्विङ र अल्ट्रा म्याराथनका सहाशिक खेलकुदका पूर्वाधार निर्माण गरिने बताउँदै खेलकुद पर्यटनको विकासका साथै खेलकुदका पूर्वाद्धार विकास तथा प्रतियोगिताहरु सञ्चालनमा निजि क्षेत्रलाई प्रोत्सहान गरिने मन्त्री महतले जनाए ।

युवाहरुलाई खेलकुदमा आकर्षण बढाउन मार्शल आर्ट खेललाई समुदायस्तर सम्म पुर्‍याउने सरकारले योजना बुनेको छ ।

खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपूर्ण कर्जा यूवा स्वरोजगार कोषबाट रकम उपलव्ध गराउने बताउँदै गण्डकी प्रदेशको राजधानी पोखरा लगायत अन्य प्रदेशमा प्रदेश स्तरिय कभर्डहल निर्माणका लागि बजेट छुट्टाइएको मन्त्री महतले बताए ।

सरकारले  १९ औं एसियाली खेलकुद र १० औं राष्ट्रिय खेलकुद प्रशिक्षणका लागि बजेट ब्यवस्था गरेको छ ।

यस्तै १९ औं एसियाली खेलकुद र १० औं राष्ट्रिय खेलकुदको तयारी र प्रशिक्षणका लागि आ.व २०८१/०८१ का बजेट छुट्टाइएको जनाउँदै मन्त्री महतले सबै खेलसंघहरुको क्षमतामा अघि बढाउन समेत बजेट छुट्टाइएको उल्लेख गर्दै स्थानियस्तरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने तथा विभिन्न खेलकुद पूर्वाद्धार निर्माण गर्न बजेट व्यवस्था गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close