नेपाल भूतपूर्व खेलाडी मञ्चको टोली कालापत्थरमा

पोखरा स्पोर्टस । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको एक टोली आइतबार कालापत्थर पुगेको छ ।

एभरेस्ट म्याराथनमा सहभागि हुन हिँडेको मञ्चको टोली ५ हजार ६ सय ४४ मिटर (१८,५१४ फिट)को उचाईमा रहेको खुम्बु क्षेत्रको कालापत्थर पुगेको हो । मञ्चको टोली एडभेन्चर नेपालको आयोजनामा भोली (सोमबार) जेठ १५ गते आयोजना हुने ‘१९ औं एभरेस्ट म्याराथन’मा सहभागिता जनाउन त्यहाँ पुगेको हो ।

कालापत्थर पुगे संगै मञ्चका संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङ, महासचिब कृष्ण तिमिल्सिनाले नेपाल भूतपूर्व खेलाडी मञ्च, पोखरा म्याराथन र ओलम्पिक डे २०२३ को लोगो अंकित झण्डाका साथ तस्विर लिएका थिए । उक्त कार्यक्रममा सहभागिता जनाउन गएका मञ्चका कोषाध्यक्ष महेश पौडेल भने स्वास्थ्यका कारण दिङबोचेबाट फर्किएका छन् ।

उक्त कार्यक्रमको उद्धेश्य नेपालमा सहाशिक खेलकुदको गन्तव्यको अध्ययन संगै पोखरा म्याराथनको प्रचार प्रसार समेत गर्नु रहेको निवर्तमान अध्यक्ष गुरुङले बताए । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष समेत रहेका उनले भने–“हामी निश्चित उद्धेश्यका साथ यहाँ आएका हौं । हामी पनि माछापुच्छ्रे र अन्नपूर्ण हिमालको काखमा रहेको हुनाले ति क्षेत्रलाई सहाशिक खेलकुदको गन्तव्यको रुपमा कसरी बिकास गर्न सकिन्छ भन्नका लागि पनि यो यात्रालाई अध्ययनको विषय बनाएका छौं ।”

म्याराथन सगरमाथा आधार शिविरबाट सुरु भई नाम्चे बजारमा पुगेर सम्पन्न हुने गर्दछ । ७० वर्ष अघि सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेको अवसरमा एभरेष्ट म्याराथनलाई विशेष रुपमा आयोजना हुने मञ्चका निवर्तमान अध्यक्ष गुरुङले बताए । सो अवसरमा हिरक जयन्ती समेत मनाईने भएकोले मञ्चको टोलीले ति कार्यक्रमहरुमा समेत् सहभागिता जनाउने कार्यक्रम रहेको छ ।

पोखराका जमुना गुरुङ र बेनी गुरुङ सहित मञ्चको टोलीले सगरमाथा आधार सिविर (५३६० मि) बाट सोमबार सुरु हुने एभरेष्ट म्याराथनमा आफ्नो उपस्थिती जनाउने कार्यक्रम रहेको छ ।

एभरेस्ट म्याराथन अन्तर्गत ७० किमि ट्रेल रेस, ४२.१९५ किमि म्याराथन र हाफ म्याराथन आयोजना हुँदैछ । प्रतियोगितामा सहभागिता जनाउन २ सय १२ जना स्वदेशी तथा विदेशी धावकहरु आइतबार आधार सिविर (बेस क्याम्प) पुगिसकेका छन् । एभरेष्ट म्याराथनमा सहभागिहरुले आइतबार प्रदर्शनी दौड (मोक रेस) समेत गरेका थिए । 

प्रथम पटक सगरमाथा आरोहण भएको दिन पारेर प्रत्येक वर्ष एभरेस्ट म्याराथन आयोजना हुँदै आएको छ । प्रथम आरोही एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको सम्मानमा  २९ मेका दिन म्याराथन आयोजना गरिन्छ । 

१९ औं संस्करणको एभरेस्ट म्याराथनमा संस्थागत सहभागिता जनाउदै मञ्चको टोली जेठ ६ गते पोखराबाट सो तर्फ प्रस्थान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close