
पोखरा स्पोर्टस । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले यूवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुलाई भेट गरी खेलाडीका समस्या बारे ध्यानाकर्षण गराएको छ ।
संघका अध्यक्ष दिपक श्रेष्ठसहितको टोलीले मन्त्री लिम्बुलाई आइतबार मन्त्रालयमा भेट गरी ध्यानाकर्षण गराएको हो ।
संघले मन्त्री लिम्बुलाई बुझाएको ध्यानाकर्षण तथा सुझाब पत्रमा विशेष गरी १९ औं एसियाली खेलकुदमा नेपालको तयारी, खेलाडीहरुको वृति बिकास तथा रोजगारको सुनिश्चितता, खेलाडीहरुको संरक्षण, घोषित पुरस्कार रकम तत्कालै उपलव्ध गराउन तथा खेलाडी कल्याण कोषको २० लाखबाट रकम वृद्धि लगायतका महत्वपूर्ण विषयहरुमा ध्यानाकर्षण गराएको छ ।
सोही ध्यानाकर्षण पत्रमा खेलाडीहरुको व्यवसायिकतामा ठोस कदम नचालिएको तथा आउने दिनमा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न निकै कठिनाई हुने उल्लेख गर्दै भनिएको छ–“अन्तर्राष्ट्रिय अबस्थालाई हेर्ने हो भने खेलकुद ब्यवसायिक रुपमा निकै अघि बढिसकेको छ । तर, दुर्भाग्य भन्नुपर्छ औपचारीक रुपमै नेपालमा खेलकुद सुरु भएको झण्डै ८० वर्ष हुन लाग्दा पनि नेपालमा खेलकुद ब्यवसायिक बन्न सकेको छैन ।”
यस्तो छ ध्यानाकर्षण तथा सुझाव
माननीय मन्त्रीज्यू,
राष्ट्रको खेलकुद क्षेत्रको अभिभावकको रुपमा रहेको युवा तथा खेलकुद मन्त्रालयको माननीय मन्त्री एवं राष्ट्रको समग्र खेलकुद क्षेत्रको विकास र विस्तारका लागि स्थापना भएको राष्ट्रिय खेलकुद परिषद्को अध्यक्षको रुपमा माननिय डिग बहादुर लिम्बुज्यू नियुक्त हुुनु भएकोमा सफल कार्यकालको अग्रिम शुभकामना सहित हामी खेलाडीहरुले ठूलो आशा र भरोषाका साथ खेलाडीहरु एवं खेलक्षेत्रमा तत्काल गर्न सकिने र प्राथमिकतामा राख्नु पर्ने विषयलाई बुँदागत रुपमा ध्यानाकर्णण गराउन चाहाँन्छौं । जसलाई माननीय मन्त्रीज्यूको कार्यदक्षता एवं कार्य कुसलताले सफलता पाउनेमा विश्वास लिएका छौं ।
ध्यानाकर्षण तथा सुझावहरु
१. मित्र राष्ट्र चीनमा हुन गईरहेको १९औं एशियाली खेलकुदको समयावधी ४ (चार) महिना मात्र बाँकी भएको अवस्थामा समेत खेलाडीहरुको विशेष प्रशिक्षण सुरु भएको छैन यसलाई तत्काल सुरु गरी बाहै्र महिना राष्ट्रिय टिम प्रशिक्षणको संचालन गरियोस ।२. देशको लागि अन्तर्राष्ट्रिय पदक जिति किर्तिमान कायम गर्ने खेलाडीहरु राष्ट्रिय खेलकुद परिषद्मा नियुक्ति पाएता पनि लामो समयदेखि बृत्ति विकास हुन नसकेको हुँदा तत्काल बृत्ति विकास एवं करारमा रही कार्यरत त्यस्ता खेलाडीहरुलाई उचित ब्यवस्थापन (स्थायी) गरियोस ।
३. राज्यले लगानी गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सफलता प्राप्त गरेका खेलाडीहरुलाई संरक्षण गर्न नसक्दा दिनानुदिन विदेश पलाएन हुनु पर्ने समस्यालाई निराकरण गर्न तत्काल ठोस योजना बनाई त्यस्ता खेलाडीहरुलाई स्वदेशमै रहन सक्ने वातावरण मिलाईयोस ।
४. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा विजयी खेलाडीहरुका लागि घोषणा गरिएको पुरस्कार रकम तत्कालै दिने ब्यवस्था मिलाईयोस ।
५. नीजि क्षेत्र अन्तर्गतको सामाजिक उत्तरदायित्व कोष (सि.एस.आर.) मा रहेको रकम खेल क्षेत्रमा प्रयोगमा ल्याउन सकिए नीजि क्षेत्रसमेत खेलकुदमा आकर्षित हुने भएको हुँदा यसले नेपालको खेलकुद क्षेत्रको विकास र विस्तार एवं खेलको स्तरोन्नतीमा महत्वपूर्ण भूमिका हुने भएकोले उक्त सामाजिक उत्तरदायित्व कोषको रकम खेलकुदमा प्रयोग गर्न आवश्यक ब्यवस्था मिलाईयोस ।
६. खेलाडी कल्याण कोषमा हाल रु. १ करोड ५० लाखको अक्षयकोष रहेकोमा नियमित रुपमा वार्षिक रु. २० लाखको अक्षयकोष फण्ड बृद्धि गर्ने ब्यवस्था मिलाईयोस ।