पोखरा महानगर वडास्तरिय फुटबलको उपाधि १४ ले जित्यो

पोखरा स्पोर्टस । पोखरा महानगर पालिका वडास्तरिय फुटबलको उपाधि वडा नं १४ ले जितेको छ ।

पोखरा महानगरपालिका खेलकुद बिकास समितिले आयोजना गरेको प्रतियोगिताको फाइनल भिडन्तमा वडा नं १५ लाई ४–० को गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । खेलको पाँचौ मिनेटमा आशिष कार्कीले गोलको खाता खोल्दै १४ लाई अग्रता दिलाएका थिए । खेलको ११ औं मिनेट सिद्धान्त गुरुङले फ्रि किकको सदुपयोग गर्दैै टिमका लागि लागी दोस्रो गोल थपे । उनले डि बक्स नजिकबाट बल प्रहार गरेका थिए ।

३५–३५ मिनेट गरी कुल ७० मिनेटको खेलमा ५१ औं मिनेटमा प्रताप गुरुङले तेश्रो गोल गरे भने दोश्रो हाफको थपिएको अतिरिक्त समयमो अन्तिम मिनेटमा याम बहादुर श्रेष्ठले चौथो गोल गर्दै उपाधि सुनिश्चित गरे ।

यहि जेठ ६ गते देखि सञ्चालन भएको प्रतियोगितामा पोखरा वडा नं १४ का खेलाडी आशिष गुरुङ सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए । उनले ट्रफी र मेडलका साथमा नगद रु १५ हजार प्राप्त गरे । वडा नम्बर १४ कै रामचन्द्र नेपाली उत्कृष्ट गोलरक्षक, निश्चल तुलाचन उत्कृष्ट डिफेन्डर, यामबहादुर श्रेष्ठ उत्कृष्ट मिडफिल्डर र ज्ञानेन्द्र भण्डारी उत्कृष्ट प्रशिक्षक घोषित भए ।

वडा नम्बर १५ का विशाल गुरूङ उत्कृष्ट फरवार्ड बने । उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद ५/५ हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाए ।

पुरस्कार वितरणपछि बोल्दै महानगरपालिका प्रमुख धनराज आचार्यले खेलकुद क्षेत्रको विकास र खेलाडी उत्पादनमा महत्वपूर्ण हुने बताए । तल्लो तहमा हुने प्रतियोगितालाई महानगरपालिकाले विशेष प्राथमिकता दिने उनको भनाइ थियो ।

प्रतियोगितामा विजेता खेलाडीहरुलाई वडा नं १४ का अध्यक्ष बोध बहादुर कार्की, १५ का अध्यक्ष तोरण बहादुर बाँनिया, प्रदेश खेलकुदका सदस्य सचिब श्रीधर शर्मा, पोखरा उद्योग वािणज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, समितिका अध्यक्ष दिपक बहादुर गोदार, सदस्य सचिव सुवास खड्कालगायतले नगद, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।

कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close