पोखरामा टेनिस खेल्न ९ देशका ११९ खेलाडी, दुई साताको पोखरा बसाई, ‘पर्यटन प्रवर्द्धनमा कोशे ढुङ्गा’–आयोजक

पोखरा स्पोर्टस । पोखरामा टेनिस खेल्न विभिन्न ९ देशका ११९ जना खेलाडीहरु पोखरा आएका छन् ।

‘आइटिएफ वर्ल्ड  र्‍याकिङ टेनिस टुर जे–५’ अन्तर्गत १८ वर्ष मुनीका खेलाडीहरु पोखरा आएका हुन् । पोखरा रंगशालामा विगत चार वर्ष अघि देखि निरन्तर रुपमा आयोजना हुँदै आएको उक्त प्रतियोगिता नेपाली खेलाडी सहित अमेरिका, भारत, हङ्गेरी, स्वीडेन, डेनमार्क, व्राजिल, क्यानाडा, इजरायल लगायतका देशका खेलाडीहरु सहभागी हुने आइटिएफ टुर्नामेन्ट डाइरेक्टर चिफ अजय विष्टले पोखरामा आज आयोजित पत्रकार भेटघाटमा जानकारी दिएका छन् । पहिलो र दोश्रो चरण गरी १२ दिन अर्थात ११ दिसेम्वर सम्म चल्ने उक्त प्रतियोगिताले टेनिस खेलको विकासमा कोशे ढुङ्गा सावित हुने विष्टको भनाई छ ।

पोखरामा निरन्तर जारी रहेको यो प्रतियोगिताले खेलकुद मार्फत पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै नेपाल टेनिस संघका केन्द्रिय सदस्य समेत रहेका विष्टले हरेक वर्ष पोखरामा विदेशी खेलाडीको आगमन बढ्दै गएको बताए । उनले भने–“शनिवार बाट हामी क्वालिफाइङ राउण्ड शुरु गर्दैछौं, क्वालिफाइङ राउण्डबाट छानिदैं सोमबार बाट शुरु हुने दोश्रो चरणको खेलमा व्वाइज र गर्ल्सतर्फ ६–६ खेलाडी छनोट हुनेछन् ।” दोश्रो चरणका लागि भने  र्‍याकिङका २२ जना र वाइल्डकार्ड बाट छानिएका ४ जना व्वाइज र गर्ल्सतर्फ गरी ३२–३२ जना खेलाडी भिड्नेछन् ।

कोभिड १९ को सम्पूर्ण मापदण्डहरु कडाईका साथ पालना गर्दै आयोजना हुने उक्त प्रतियोगितामा नेपालका तर्फबाट व्वाइजमा आरभ सम्राट हाडा र गर्ल्समा अभिलाषा विष्टले सहित गर्ल्स तथा व्वाइजतर्फ गरी २६ खेलाडीले प्रतिष्पर्धा गर्नेछन् । आरभ र अभिलाषा यो प्रतियोगिताका नं १ सिडेड खेलाडी समेत हुन भने उनीहरु वर्ल्ड  र्‍याकिङ खेलाडी समेत हुन् । त्यस्तै प्रतियोगितामा नेपाल बाट सहभागि हुने पोखरेली खेलाडीहरुमा व्याइजमा निहाल जङ्ग बहादुर थापा, इशान गुरुङ, गिर्वाण जङ्ग थापा र सौगात विक छन् भने गर्ल्सतर्फ श्रेया भट्टराई र रोमिका वुद्धाचार्य रहेको कास्की टेनिस संघका सचिव नविन श्रेष्ठले बताए ।

प्रतियोगिताबारे जानकारी दिंदै कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक बहादुर गुरुङले यो प्रतियोगिताले पोखरालाई टेनिसमय बनाउन सहयोग पुगेको बताए । उनले भने–“कोभिड १९ का कारण सुस्ताएको टेनिसले फेरि पर्यटन प्रवद्र्धन सँगै खेलकुदलाई व्यूँताउने काम गरेको छ ।” पोखरालाई टेनिस मार्फत विश्वमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै अध्यक्ष गुरुङले प्रतियोगिता सफल बनाउन सवै सँग आग्रह समेत गरे ।

सो अवसरमा आफ्ना भनाई राख्दै टेनिस कास्कीका सल्लाहाकार तथा पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले टेनिसको यो उपस्थितीले नेपाल कोभिडबाट ‘सेफ’ छ भन्ने सन्देश विश्वमा फैलिएको बताए । उनले भने–“हामी यति वेला आन्तरिक पर्यटनको कुरा उठाइरहँदा, युरोप र अमेरिका बाट समेत खेलाडी आएका छन् यो शुखद सन्देश हो ।” उनले यो प्रतियोगिताको आयोजनाले पोखराका पर्यटन उत्साहित समेत भएको उल्लेख गरे ।

प्रतियोगितामा करिव १५ लाख खर्च लाग्ने जानकारी दिंदै कास्की टेनिसका कोषाध्यक्ष अनुज बास्तोलाले सवैको सहयोग रहेमा प्रतियोगिताले निरन्तरता पाउनेमा सहजता हुने बताए । उनले अहिले खेलाडीको दर्ता रकम बाट मात्रै प्रतियोगिता सम्पन्न गर्न समस्या भइरहेको बताउँदै प्रदेश सरकार, पोखरा महानगर पालिका लगायत अन्य सहयोगी संस्थाहरुलाई सहयोग गर्न आग्रह समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close