
पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले बुधबार एक समारोहबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारलाई स्वागत गर्दै सम्मान गरेको छ । एनओसीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रमा अध्यक्ष तथा पूर्व मन्त्री जीवनराम श्रेष्ठले नवनियुत्त मन्त्री द्वयलाई सम्मान पत्र हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउँदा कुनै समस्या नहुने बताए । उनले खेलकुद क्षेत्रमा लागेकाबाट त्याग र तपस्याको आवश्यकता रहनुपर्ने कुरामा जोड दिए । चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदमा नेपालबाट २८ खेलमा सहभागी हुने गृहकार्य भइरहेको उल्लेख गरे ।
कार्यक्रममा एनओसीका सल्लाहकार समेत रहेका मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक सस्था रहेको बताउँदै एनओसीले गर्ने हरेक कृयाकलाप खेलकुद विकासका लागि महत्वपूर्ण रहेको बताए ।
एनओसीका अध्यक्ष श्रेष्ठले मन्त्री द्वयलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै अझै पनि खेलकुद ऐन अनुसार यसलाई अगाडि बढाउने चुनौती रहेको बताए ।
कार्यक्रममा एनओसीका पूर्व अध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान तथा महासचिव निलेन्द्रराज श्रेष्ठले पनि आफ्नो धारणा राखेका थिए । सो अवसरमा महासचिव श्रेष्ठले नयाँ खेलकुद ऐन अनुसार नेपालमा एउटै मात्र ओलम्पिक कमिटि हुने बताउँदै ओलम्पिक कमिटि र राष्ट्रिय खेलकुद परिषदबीच खेलकुद बिकासमा सहकार्य संगै आपसी सम्वन्ध बलियो रहेको बताए ।