
पोखरा स्पोर्टस । पोखरामा जारी लुम्बिनी विकास बैंक लिमिटेड अरण्यज्योति क्रिकेट प्रतियोगिता अन्तर्गत समुह ‘ख’ तर्फको खेल रोचक बनेको छ । सेमिफाइनल पुग्ने सबैको सम्भावना उत्तिकै बनेको छ । शुक्रबारको खेलपछि समुहका चारै टिमको समान २ अंक भएको छ । शुक्रबारको खेलहरुमा राइजिङ पोखरा र पेलिकेण्स तनहुँ विजय भएसंगै अंक तालिकाको समिकरण यस्तो बनेको हो ।
पहिलो खेलमा तनहुँले पल्सर सिइसी माथि ६विकेटको जित निकाल्यो । टस जितेर ब्याटिङ गरेको सिइसीले २० ओभरमा ६ विकेट गुमाएर ८३ रन बनाएको थियो । सिइसीका विराट भण्डारीले २५, कौशल रुपाखेतीले १६ तथा सिदान्त सिंह थापाले १३ रन बनाए । प्रत्युत्तरमा तनहुँले १४.५ ओभरमा ४ विकेट गुमाउँदै जित हासिल गर्यो । तनहुँका प्रतिक श्रेष्ठले अभिजित २८, क्रिस कार्कीले अभिजित २७ तथा ईश्वर क्षत्रिले २१ रन बनाए । सिइसीको बलिङमा सुबास खत्रीले ३ र अविनाश बस्यालले १ विकेट लिए । खेलमा पेलिकेण्ट्सका क्रिष काकी म्यान अफ द म्याच भए ।
अर्को खेलमा राइजिङ पोखराले साँग्रिला क्रिकेट क्लवमाथि ३४ रनको जित निकाल्यो । पहिला व्याटिङ गरेको राइजिङले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । साँग्रिलाले पुरा २० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय २३ रन मात्रै बनाउन सक्यो । साँग्रिलालाई रोक्ने क्रममा राइजिङका बलरहरु अमृत गुरुङ्ग र धिरज शाही ठकुरीले समान ४–४ विकेट लिए । म्यान अफ द म्याच समेत भएका राइजिङ पोखराका अमृतले व्याटिङतर्फ ३४ रन जोडेका थिए । त्यस्तै करण केसीले २८ तथा किरण पौडेलले २७ रनको पारी खेले ।
साँग्रिलाका सिब्रिन श्रेष्ठले ३६ तथा शरद भेषावकरले १५ रन बनाएका थिए । खेलमा साँग्रिलाका बलरहरु विपिन खत्री र शरद भेषावकर दुवैले ४–४ विकेट लिएका थिए । दर्शक विट्टु बैठाले छक्का हुँदै मैदान बाहिर आएको बल समातेपछि अन्नपूर्ण केवलकारको पुरस्कार जिते ।