पोखरामा अरण्यज्योति कप क्रिकेट सुरु

पोखरा स्पोर्टस । अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा सोमबारदेखि लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप–२०८० सुरु भएको छ ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा जेठ १ देखि ८ सम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न ८ टिमले भाग लिएका छन् ।

प्रतियोगितामा आयोजक सहित पोखरास्थित माछापुच्छे क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, राइजिङ क्रिकेट क्लब, बागलुङ क्रिकेट क्लब, तनहुँको पेलिकन्स क्रिकेट क्लब, काठमाडौंको क्रिकेट एक्सिलेन्स सेन्टर र किङ्स क्रिकेट क्लबले भाग लिएका हुन् । लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि–२० आधारमा हुनेछ ।

उद्घाटन खेल किङ्स क्रिकेट क्लबलाई ५७ रनले पराजित गर्दै माछापुच्छे« क्रिकेट क्लबले जितेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको माछापुच्छे«ले पूरै १६ ओभरमा ४ विकेट गुमाउँदै १३० रनको लक्ष्य पस्केकोमा किङ्स अलआउट हुँदै ७२ रनमा मात्र समेटियो । प्लेयर अफ दि म्याच माछापुच्छे«का राजु गुरुङ बने ।

अर्को खेलमा आयोजक विजयी भयो । बागलुङ क्रिकेट क्लबलाई १२ रनले पराजित गर्दै आयोजकले विजयी सुरुआत गरेको हो । टस हारेर पहिलो ब्याटिङ गरेको उसले पूरै २० ओभरमा ८ विकेट गुमाएर ११५ रन जोडेको थियो । जवाफी ब्याटिङमा बागलुङले ९ विकेट गुमाउँदै १०३ रनमात्र जोड्न सक्यो । जितमा ५२ रनको अर्धसतकीय पारी खेलेका अमरसिंह रौटेला प्लेयर अफ दि म्याच घोषित भएको क्लब सचिव विधान श्रेष्ठले बताए ।

८ विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय प्राप्त गर्ने छन् ।

प्रतियोगिता उद्घाटन गर्दै क्यानका बोर्ड सदस्य ऋषिराम गौतमले आर्थिक मन्दीको बेलामा पनि विभिन्न प्रायोजक जुटाएर अरण्यज्योतिले क्रिकेट प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद दिँदै निरन्तरताको कामना गरे ।  प्रदेश खेलकुद परिषद् गण्डकीका कार्यकारी सदस्य समेत रहेका गौतमले यसखालका प्रतियोगिताले नयाँ प्रतिभा प्रस्फुटनमा पनि सघाउ पुग्ने तथा सिक्ने र सिकाउने थलो हुने बताए ।

आयोजक क्लब अध्यक्ष कमल थापाको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेश क्रिकेट संघ अध्यक्ष देवेन्सन प्रजू, कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देल, मुख्य प्रायोजक लुम्बिनी विकास बैंकका तर्फबाट लामाचौर शाखा म्यानेजर नवीन तझ्या, भगवान् श्रेष्ठ लगायतले बोलेका थिए । प्रतियोगितालाई बजगाइज् सोसाइटी, स्तुपा एजुकेस्नल कन्सल्ट्न्सी, अन्नपूर्ण केबल कार, कास्की क्रिकेट एसोसिएसन लगायत संघसंस्थाले सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close