
पोखरा स्पोर्टस । नेपालमा आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कप ट्रफीको अनावरण गरिएको छ ।
काठमाण्डौमा आयोजित एक कार्यक्रमका विच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले उक्त ट्रफीको अनावरण गरेका हुन् । सो अवसरमा सदस्य–सचिव घिसिङले नेपाली टोलीलाई ह्याट्रिक उपाधिका लागि शुभकामना दिदै भने– ‘तपाईंहरुले दुई पटक उपाधि जितेर आफूलाई प्रमाणित गरिसक्नु भएको छ । मलाई विश्वास छ, तपाईंहरुले फेरि उपाधि जितेर ह्याट्रिक गर्दै इतिहास रच्नु हुनेछ । सफलताका लागि कप्तान, खेलाडी, प्रशिक्षक, भलिबल संघका पदाधिकारी सम्पूर्णलाई शुभकामना छ ।’

काभा महिला भलिबल च्यालेन्ज कप ट्रफी जेठ ८ गतेबाट काठमाण्डौ सुरु हँुदैछ । जेठ ८ गते राष्ट्रिय भलिबल दिवस समेत हो । सोही दिनको उद्घाटन खेलमा नेपालले किर्गीस्तानको सामना गर्नेछ ।
ट्रफी अनावरण कार्यक्रम नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दको अध्यक्षतामा भएको थियो । ट्रफीलाई नेपाल पहिचान दिने गरी तयार गरिएको अध्यक्ष चन्दले पोखरा स्पोर्टसलाई बताए । प्रतियोगिताका लागि राखेपले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै २०८० को अन्त्यतिर काभा क्लब भलिबल च्याम्पियनसिप आयोजना गर्ने सोच रहेको अध्यक्ष चन्दले बताए ।
कार्यक्रममा प्रतियोगिताका लागि ढोरपाटन क्लबले पनि आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । क्लबकी वरिष्ठ उपाध्यक्ष छलकुमारी छन्त्यालले भलिबल संघका कोषाध्यक्ष श्याम श्रेष्ठलाई १ लाख नगद हस्तान्तरण गरिन् ।
काभा महिला भलिबल च्यालेन्ज ट्रफीमा सेन्ट्रल एसिया जोनका ८ देशको सहभागिता छ । दुई पुलमा विभाजित प्रतियोगितामा नेपाल पुल ‘ए’ मा भारत संगै रहेको छ ।
पुल ‘ए’ मा नेपाल संगै किग्रीस्तान, भारत, बंगालादेश र भुटान रहेका छन् ।
त्यसै गरी ‘पुल बि’ मा उज्बेकिस्तान, श्रीलंका, माल्दिभ्स र काजाकास्तान रहेका छन् ।
प्रतियोगितामा सहभागि हुने नेपाली खेलाडीहरु यति बेला बन्द प्रशिक्षणमा छन् ।
नेपाली खेलाडीहरुलाई हालै प्रशिक्षकमा नियुक्ति पाएका विदेशी प्रशिक्षक बेल्जियन जान डी ब्रान्टले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन् । नेपालले दुई पटक सन २०१९ र २०२१ मा ट्रफी उचालेको छ ।
