पोखरा स्पोर्टस अवार्ड : उत्कृष्ट प्रशिक्षक बन्ने दौड किशोर, निरज र सुरजको

पोखरा स्पोर्टस । गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा बेग्लै रौनकता प्रदान गर्दै आइरहेको पोखरा स्पोर्ट्स अवार्डको सातौं संस्करणको मिति नजिकिदै गएको छ । अवार्ड कार्यक्रम अन्तरगत भइरहेका गतिविधिका कारण बेग्लै रौनकता थपिरहेको छ ।

अवार्ड अन्तरगतका चार बिधाको मनोनयन सार्वजनिक भइसकेकोले अवार्ड कसको पोल्टामा पुग्ला जिज्ञाशा बढ्न थालेको छ । अवार्ड अन्तरगतको वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ पनि उस्तै प्रतिष्पर्धा देखिन्छ । मनोनयनमा पर्न सफल सबैजना आफ्नो क्षेत्रमा अब्बल भएकोले प्रतिष्पर्धा पेचिलो बनेको छ । यो विधामा आर्चरीका किशोर कुमार गुरुङ्ग केके, टेनिसका निरज थापा र आइटीएफ तेक्वान्दोका सुरज सुनार रहेका छन् ।

किशोर कुमार गुरुङ्ग केके–आर्चरी
नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा आर्चरीले गण्डकी प्रदेशलाई अत्याधिक १३ पदक जिताउँदा किशोर कुमार गुरुङ्गले टोलि प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । उनकै प्रशिक्षणमा रहेको आर्चरी टिमले नवौं राष्ट्रिय खेलकुदमा गण्डकी ७ स्वर्ण, ४ रजत तथा २ कास्य सहित १३ पदकसहित टिम च्याम्पियन बनाएको श्रेय उनलाई छ ।

नेपाल आर्चरी संघका केन्द्रिय सदस्य समेत रहेका गुरुङ्गले नेपालमै आर्चरी खेल भित्राएको श्रेय समेत उनलाई नै छ । ६५ वर्षिया गुरुङ्ग सिंगापुर पुलिस फोर्समा रहँदा उनले त्यहाँ पनि यो खेल सिकाए । सन् १९९८ तिर सिंगापुरमै रहँदा भारतीय प्रशिक्षक लक्ष्मणबाट उनले यो खेल सिकेका हुन् । सिंगापुरबाट नेपाल आएपछि सन् २००४ मा उनले नेपालमा यो खेल सिकाउन सुरु गरे । उनको प्रशिक्षणमा नेपालले थुप्र्रै आर्चरी प्रतिभाहरु जन्माइसकेको छ ।

त्यसो त उनले आर्चरी भन्दा पहिला सुटिङ शुरु गरेका थिए । तर माओवादी द्वन्दका बेला यो खेललाई निरन्तता दिन नसकेपछि उनी सुटिङबाट आर्चरीतर्फ लागे । स्याँङग्जा–१, आँधिखोलमा पिता स्व.लोकबहादुर गुरुङ्ग र माता स्व.सिजा गुरुङ्गको कोखबाट जन्मिएका किशोर हाल पोखरा–१५ लक्ष्मीटोलमा बसोबास गर्दै आएका छन् ।

निरज थापा –टेनिस
झण्डै २ दशक अघि काठमाण्डौबाट पोखरा आएका निरज थापाले अन्ततः पोखरालाईनै घर बनाए । केहि समयका लागि भन्दै आएका उनले यहिं घरजम गरे । अहिले उनी आफ्ना दुई छोरा र अन्य थुप्र्रै शिष्य सहित पोखरा रंगशालाभित्रको टेनिस कोर्टमा टेनिस सिकाइरहेको देखिन्छन् ।

निरजलाई पोखरेली टेनिस खेलाडीहरु ‘रसियन गुरु भन्ने गर्दछन् । २०५९ सालमा नदीपुरको रत्नश्री जिम टेनिस कोर्टमा उनले टेनिस सिकाउँदा पोखराका अग्रज टेनिस खेलाडीहरु समिर शेरचन, बुद्धि हिराचन, राजु श्रेष्ठ, अनिल गुरुङ्ग, बिनोद कायस्थ, दोर्जे लामा लगायत दश पन्ध्र जना त्यो कोर्टमा देखिन्थे । अल्लि समयपछि कुमार अधिकारी, महेश्वर तिवारी लगायतका केहि युवा खेलाडीहरु त्यहि कोर्टमा आए । अहिले कास्कीमा टेनिस प्रशिक्षकका रुपमा चिनिने अनिल शाही, शक्ति शर्मा लगायतले निरजसंग ¥याकेट समात्न सिके । लगातार ४ वर्षदेखि नेपालको शिर्ष वरियता प्राप्त प्रदीप खड्का उनै निरजका चेला हुन् ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकीले ३ स्वर्ण, २ कास्य जित्दा निरज गण्डकी प्रदेशको प्रशिक्षक थिए । उनको प्रशिक्षणमा रहेका प्रदीपले यहि वर्ष पोखरामा सम्पन्न माछापुच्छ्रे बैंक राष्ट्रिय टेनिस, सिटिजन कप राष्ट्रिय ओपन तथा बुटवलको मेयर कप गरि ५ स्वर्ण पदक हात पारे । थापाले छैठौं संस्करणको पोखरा स्पार्टस अवार्डमा उत्कृष्ट प्रशिक्षकको उपाधि जित्न सफल भएका थिए ।

सुरज सुनार –आइटीएफ तेक्वान्दो
४ डान प्राप्त तेक्वान्दो प्रशिक्षक सुरज सुनारको प्रशिक्षणमा रहेको गण्डकी प्रदेशका आइटीएफ तेक्वान्दो खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा १४ वटा पदक दिलाउँदा यो प्रदेशलाई सर्वाधिक मेडल दिलाउने खेल आइटीएफ तेक्वान्दो बन्यो । आइटीएफ तेक्वान्दोले यो प्रदेशलाई ५ स्वर्ण, ७ रजत तथा २ कास्य पदक दिलाएको हो ।

२०४५ सालमा बुवा तेजबहादुर सुनार र आमा भिमकुमारी सुनारको तीन भाई छोरा मध्ये कान्छा छोराका जन्मिएका सुरजमा सानै देखि यो खेलको भोक थियो । पोखरा–२९, पट्न्यारीका सुनारले २०६० सालबाट खेलाडीका रुपमा यो खेल शुरु गरेका हुन् । भण्डारढीकास्थित सैनिक आइटीएफ डोजाङमा प्रकाश थापा मगरलाई गुरु मानेर ‘गी’ लगाएका उनले ०६४ सालदेखि त्यहि दोजाङमा प्रशिक्षकका रुपमा आफुलाई उभ्याए । त्यहिबेला उनले भरतपोखरी तेक्वान्दो डोजाङमा पनि सयौं विद्यार्थी जन्माएका थिए । अहिले पनि उनीसंग सयौं खेलाडीहरु नियमित प्रशिक्षणमा आउने गर्दछन् ।

यसअघि उनले आइटीएफ जुनियरतर्फ राष्ट्रिय प्रशिक्षक, तथा आइटीएफ अन्र्तराष्ट्रिय रेफ्रीको भूमिंका पनि निर्वाह गरिसकेका छन् । खेलाडीका रुपमा पनि उनले थुप्रै राष्ट्रिय तथा अन्र्तर्राष्ट्रिय प्रतियोगिताहरुमा भाग लिइसकेका छन् ।

अवार्ड कार्यक्रममा वर्ष उत्कृष्ट प्रशिक्षक सहित वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close