
पोखरा स्पोर्टस । ‘शान्ति र समृद्धिका लागि खेलकुद’ भन्ने मूल नाराका साथ बुद्ध तपोभुमी लुम्बिनीमा आयोजना हुने लुम्विनी पिस हाफ म्याराथनको तयारी पुरा भएको आयोजकले जनाएको छ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा यहि चैत २३ गते बिहिबार हुने प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा देशैभरका करिव २ हजार ५ सय धावकहरु सहभागी हुने एकेडेमीका केन्द्रिय अध्यक्ष अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् । मंगलबार प्रतियोगिताको तयारी बारे जानकारी दिंदै अध्यक्ष आचार्यले ६० जिल्लाका २ हजार १ सय जनाले नाम दर्ता गराइसेकेको र त्यो क्रम जारी रहेको बताए ।
लुम्विनी पिस हाफ म्याराथनको नेकपा एमालेका अध्यक्ष, एकेडेमीका संरक्षक एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको आयोजकले जनाएको छ ।
महिला र पुरुष दुवैको छुट्टाछुट्टै प्रतियोगिता मायादेवी प्रवेशद्वारबाट सुरु हुनेछ । प्रतियोगितामा पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रोलाई ७५ र तेस्रोलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । जस अनुसार पुरुषतर्फ पहिलो हुनेलाई १ लाख ५० हजार, दोश्रो हुनेलाई ७५ हजार, तेश्रो हुनेलाई ५० हजार, चौथोलाई ३० हजार, पाँचौलाई २० हजार, छैटौं १० हजार, सातौंलाई ७ हजार आठौं, नवौं र दशौं सम्मका लागि जनही नगद ५–५ हजार पुरस्कार राशी संगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।
त्यसै गरी महिलातर्फ पहिलो हुनेलाई १ लाख ५१ हजार, दोश्रो हुनेलाई ७५ हजार, तेश्रो हुनेलाई ५० हजार, चौथोलाई ३० हजार, पाँचौलाई २० हजार, छैटौं १० हजार, सातौंलाई ७ हजार आठौं, नवौं र दशौं सम्मका लागि जनही नगद ५–५ हजार पुरस्कार राशी संगै प्रमाणपत्र तथा मेडल प्रदान गरिनेछ ।
यसै क्रममा एकेडेमीले राष्टिय भेला समेत आयोजना गर्ने भएको छ । सो राष्ट्रिय भेलाको समेत तयारी पुरा भएको अध्यक्ष आचार्यले जानकारी दिएका छन् । राष्ट्रिय भेलाले जिल्ला र पालिकाहरुको कमिटिहरुको घोषणा गर्ने गरी आयोजना हुन लागेको हो । भेलामा विभिन्न खेल विद्याहरुको डेमोस्ट्रेसन तथा विभिन्न कला संस्कृती झल्कने प्रदर्शनीहरु समेत हुनेछन् ।
