
पोखरा स्पोर्टस। गण्डकी प्रदेश सरकारले चार क्रिकेट खेलाडीलाई सम्मान गरेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै ग्लोबल क्वालिफायरमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य करन केसी एवं अन्डर–१९ वर्ल्डकपमा पुग्न सफल खेलाडीहरु दिपक डुम्रे,अर्जुन कुमाल र सुवास भण्डारीलाई ५०/५० हजार नगद सहित सम्मान गरेको हो ।
प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री खगराज अधिकारी, सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङ, मन्त्रालयका सचिव हेमराज सुवेदी, गण्डकी खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने चार खेलाडीलाई जनही नगद ५०/५० हजार र प्रमाणले सम्मान गरेका थिए ।
सम्मानपछी मुख्यमन्त्री अधिकारी खेलाडीहरु राष्ट्रको गहना मात्रै नभई सम्पती भएको बताए । उनले खेलकुद र खेलाडीको उन्नयनका लागि प्रदेश सरकारले सदैव सकारात्मक भुमिका खेल्ने बताउँदै खेलाडीहरु प्रती उच्च सम्मान व्यक्त गरे । उनले भने–“यहाँहरुले आज नेपालीहरुको आत्मसम्मानलाई उचो बनाउनु भएको छ । विरपुर्खाहरुले सञ्चित गरेको यो भूमिमा थप इटा थप्न भूमिका खेल्नु भएको छ ।” मुख्यमन्त्री अधिकारीले अझै यस्तै नेपालको आत्मसम्मान बढाउन गरी अघि बढ्न खेलाडीहरुलाई आग्रह गर्दै भने–“यहाँहरुले आफ्नो आत्मबलका साथ खेल्नुहोस हामी यहाँहरुको सम्मानका लागि संधै तयार रहने छौं ।”
सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले खेलकुदको माध्यमबाट विश्वभर चिनाउन सफल खेलाडीहरु र खेलकुद क्षेत्रलाई सरकारले प्राथमिकता राखेको बताए । उनले क्रिकेट खेलको माध्यमबाट प्रदेश र देशको शिर उचों बनाउन खेलाडीहरुले गरेको योगदानलाई मुल्यांकन गर्दै प्रदेश सरकारले सम्मान गरेको बताए । मन्त्री गुरुङले पशुपती घाटको क्रिकेट स्टेडियम निर्माणका सवालमा केही समस्याहरु रहेको औंल्याउँदै प्रदेश सरकारले उचित जग्गा प्राप्त गर्न सके स्टेडियम निर्माणको प्रक्रिया अघि बढाउन प्रदेश सरकार सकरात्मक रहेको बताउँदै पोखरामा अन्तर्राष्ट्रिय आइस स्केटिङको सुरुआत गर्न प्रारम्भिक चरणहरुको काम मन्त्रालयले सुरुआत गर्न लागेको जानकारी समेत दिए ।
मन्त्रालयका सचिव हेमराज सुवेदीले खेलाडीहरुको अनुहारमा खुसी ल्याउन यो सम्मान कार्यक्रम आयोजना गरेको बताउँदै खेलाडीहरुको प्रदर्शनले राष्ट्रको मात्रै नभई प्रदेशको समेत गौरव बढाउन भूमिका खेलेको उल्लेख गरे ।
सो अवसरमा आफ्ना भनाई राख्दै गण्डकी प्रादेशिक संघका अध्यक्ष देवेन्द्र प्रजुले पोखरालाई क्रिकेटको वैकल्पिक केन्द्रको रुपमा स्थापित गर्न पूर्वाधारको विकास नै पहिलो सर्त रहेको बताए । उनले खेलाडीलाई सम्मान गरेकोमा आभार व्यक्त गर्दै पोखरा अव ‘क्रिकेट कल्चर’को रुपमा स्थापित हुँदै गएको बताए ।
कार्यक्रममा सम्मानित क्रिकेट खेलाडी करण केसीले पूर्वाद्धारको विकासमा ध्यान दिन सके अझै धेरै राम्रा खेलाडी उत्पादन हुन सक्ने बताए । उनले प्रदेश सरकारलाई आग्रह गर्दै भने–“हामीलाई मित्रराष्ट्र भारतमा जस्तै गरी पूर्वाधारहरु निर्माण गरिदिनुहोस हामी राष्ट्रको सिर उच्चो बनाउने गरी आफ्नो योगदान दिने छौं ।” उनले नेपाल टिमबाट खेलेको ९ वर्षको अनुभव सुनाउँदै सुरुमा त आफूले नेपालमा क्रिकेट खेलाडीको रुपमा कुनै भविष्य नदेखेको बताए । आफू टिममा पर्न एक वर्ष कुर्न परेको जनाउँदै राम्रो पूर्वाधारको निर्माणले मात्रै खेलाडीलाई अझ अघि बढ्न प्रेरणा मिल्ने बताए ।
कार्यक्रम प्रदेश खेलकुद परिषदका सदस्य सचिव घनश्याम पौडेलले समेत आफ्ना भनाई राखेका थिए ।