नेपाली यू–१२ फुटबल टोलीलाई राष्ट्रपति पौडेलले गरे बिदाई

पोखरा स्पोर्टस । नेपालको प्रतिनिधित्व गर्दै पोखरा २६ स्थित बिजी फुटबल एकेडेमीबाट जापान जान लागेको यू–१२ फुटबल टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्रमका विच विदाई गरेका छन् ।

जापानको राजधानी टोकियोमा आगामी मार्च ३१ देखि अप्रिल २ सम्म हुने कोपातोरेरोस जुनियर फुटबल च्याम्पियनसिप तथा अप्रिल ४ देखि ६ तारिख सञ्चालन हुने नेशन कपमा सहभागि हुन जान लागेको टिमलाई राष्ट्रपति पौडेलले सितल निवासमा आयोजित एक कार्यक्रमका विच विदाई गरेका हुन् । नेपाली टोली एक वर्ष अघि पोखरामा पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले सुरुआत गरेको बिजी फुटबल एकेडेमीमा प्रशिक्षित खेलाडीहरु हुन् ।

फन रुट्स एकेडेमीले हरेक वर्ष जापानमा सञ्चालन गर्दै आएको उक्त प्रतियोगितामा नेपालको यो पाँचौ पटकको सहभागिता हो । बिजी फुटबल एकेडेमीले पहिलो पटक उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने भएको गौचनले बताए । प्रशिक्षक राजेन्द्र तामाङ र किसान गौचन टिम व्यवस्थापक रहेको नेपाली टोलीमा १२ जना खेलाडीहरु रहेका छन् । खेलाडीहरुलाई उनीहरुको प्रशिक्षण र खेलको आधारमा छनौट गरिएको गौचनले जानकारी दिए ।

“हामी हरेक वर्ष नेपाली खेलाडीहरुलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उनीहरुको खेल क्षमतालाई अभिवृद्धि गराउन प्रयासरत छौं” पूर्व अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका गौचनले भने–“यो त्यही क्रमको सिलसिला हो । नेपाली खेलाडीले केही नयाँ कुरा सिक्न पाउनेछन् ।” लामो समय देखि फन रुट्स एकेडेमीका प्रशिक्षकको रुपमा कार्यरत गौचनले खेलाडीहरुको व्यवस्थापनको जिम्मा जापानमानै सन २०१६ मा स्थापित रहेको संस्था नेपाल यूथ फुटबल प्रोजेक्टले लिएको समेत जानकारी दिए ।

उक्त प्रतियोगितामा नेपाली टिमसहित स्पेन, जर्मनी, अमेरिका, पोर्चुगल, कोरिया, ताइवान, नेपाल र आयोजक जापानका विभिन्न शहरका क्लवहरुको सहभागिता रहेको गौचनले जानकारी दिएका छन् ।

यसै विच जापान जान लागेको टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकज नेम्वाङले समेत एन्फा सचिवालयमा विदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close