
पोखरा स्पोर्टस । नेपालका पूर्व राष्ट्रिय फुटबल खेलाडी डम्वरसिं गुरुङको निधन भएको छ ।
पोखरा ४ निवासी गुरुङको उपचारको क्रममा ७१ वर्षको उमेरमा बुधबार दिउसो मनिपाल शिक्षण अस्पतालमा निधन भएको हो । मुटुमा समस्या देखिएलगतै उनलाई अस्पताल लगिएको पारिवारिक स्रोतले जनाएको छ । उनी पाँच वर्ष यता उच्च रक्तचापबाट पिडित थिए । बेलायती सेनाबाट सेवानिर्वित गुरुङ बेलायती सेनामा कार्यरत रहँदा नै नेपाली राष्ट्रिय टिमबाट ओलम्पिक क्वालिफायर राउण्डमा कुवेत विरुद्ध खेलेका थिए ।
फुटबलमा उत्कृष्ट प्रदर्शन देखेर नै राष्ट्रिय खेलकुद परिषदका तत्कालिन सदस्य सचिव स्व.शरद चन्द्र शाहले सन १९७४ मा नेपाली राष्ट्रिय फुटबल टिममा समावेश गराएका थिए । सन १९८२ को एसियन गेम्समा समेत नेपालको प्रतिनिधित्व गरेका गुरुङ आरसिटी क्लवमा समेत आवद्ध थिए । उनी एएफसीको आधिकारिक प्रतियोगिता यू–१६ एसियन युथमा समेत नेपाली राष्ट्रिय टिमको सदस्य थिए ।
नेपाली राष्ट्रिय यूथ १७ फुटबल टिमको प्रशिक्षक समेत रहि सकेका स्वर्गिय गुरुङ बेलायती सेनाबाट सेवानिर्वित संगै सहारा एकेडेमीमा र एपिएफ क्लवको समेत प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । पछिल्लो समय ‘डम्वर गुरु’ उपनामबाट परिचित स्वर्गिय गुरुङ पछिल्लो समय खेलकुद संगै सामाजिक अभियानमा व्यस्त थिए ।
उनको श्रीमती, एक छोरा र तिन छोरीहरु रहेका छन् । उनको अन्त्येष्टि शनिबार गर्ने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
फायल तस्विरः सुदर्शन रञ्जित
