
पोखरा स्पोर्टस । कास्की जिल्ला टेनिस संघले विद्यार्थीहरुलाई लक्षित गर्दै ‘समर टेनिस क्याम्प’ कार्यक्रम सुरु गर्ने भएको छ ।
‘किड्स आउट अफ स्मार्ट डिभाइसेस’ भन्ने नाराका साग यहि चैत्र १३ गतेबाट उक्त कार्यक्रम सुरु गर्ने भएको हो । करिव एक महिना सञ्चालन हुने उक्त कार्यक्रम अन्तर्गत वार्षिक परिक्षा दिएर बसेका बालबालिकालाई टेनिस प्रशिक्षण दिने उद्धेश्यका साथ मैदानमा ल्याउने तयारी गरिएको कास्की टेनिसका सचिव नविन श्रेष्ठले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
“यो हाम्रो वार्षिक कार्यक्रम हो’ सचिव श्रेष्ठले भने–“हाम्रो उद्धेश्य परिक्षा दिएर घर बसेका विद्यार्थी भाई बहिनीहरुलाई टेनिस पनि सिकाउने र उनीहरुलाई मोवाइलबाट केही समय भए पनि टाढा राख्ने नै हो । हामी अभिभावकहरुलाई समेत आफ्ना छोरा–छोरीलाई पोखरा रंगशाला सम्म ल्याएर हाम्रो अभियानमा साथ दिन आग्रह गछौंं ।”
कास्की टेनिसले हालै साधारण सभा मार्फत कास्कीमा टेनिस विकासका लागि ग्रास रुट लेभलको प्रशिक्षण सुरुवात गर्ने योजना समेत गरिसकेको जानकारी दिंदै सचिव श्रेष्ठले समर क्याम्प अन्तर्गत रहेका विद्यार्थीहरुलाई समेत ग्रास रुटमा समाहित गर्ने योजना समेत रहेको बताए । उनले भने–“यो सुरुवात मात्रै हो । समर क्याम्पमा उत्कृष्ट गर्न सके उनीहरुलाई ग्रास रुटको प्रशिक्षणमा राखेर नियमित प्रशिक्षण दिने छौं र उत्कृष्ट भन्दा उत्कृष्ट टेनिस खेलाडी उत्पादन नै हाम्रो लक्ष्य हो ।” समर क्याम्प अन्तर्गत ६ दृखि १४ वर्ष भित्रका बालबालिका लाई प्रशिक्षण दिइने उनले जानकारी दिए ।
पोखरा रंगशालास्थित सात वटा क्ले कोर्ट र एक हार्ड कोर्टलाई चलायमान बनाउन कास्की टेनिसले जुनियर खेलाडीहरुको प्रशिक्षणका लागि समेत प्रदेश खेलकुदको सहयोगमा एक छुट्टै हार्ड कोर्टको समेत निर्माण गरिसकेको छ । कास्की टेनिस राजधानी पछि खेलाडी उत्पादन र पदक जित्नेमा आफूलाई अग्र भागमा राखेको छ । कास्की बाटै सिनियरतर्फ नेपाल नं १ टेनिस र्याङ्किङ खेलाडीमा प्रदिप खडका छन् भने जुनियरतर्फ दर्शिल श्रेष्ठ रहेका छन् । उनीहरु दुवै जना कास्की टेनिसका उत्पादन हुन् ।