
पोखरा स्पोर्टस । प्रदेश खेलकुद परिषदको चौथो पूर्ण बैठक सम्पन्न भएको छ ।
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री तथा परिषदका अध्यक्ष समेत रहेका पञ्चमान गुरुङको अध्यक्षतामा बुधबार साँझ सम्पन्न भएको हो । सो अवसरमा मन्त्री गुरुङले खेल संघहरुलाई व्यवस्थित गर्ने संगै प्रदेशमा खेलिने परम्परागत खेल संघहरुलाई समेत समेट्न आग्रह गरेका छन् ।
परिषदका पदाधिकारीहरुले स्वयंसेवी रुपमा खेलकुद विकासका लागि गरेको भूमिकाका लागि मन्त्री गुरुङले प्रशंसा गर्दै नवौं राष्ट्रिय खेलकुदमा प्राप्त उपलब्धिको उच्च मुल्याङ्कन गरिने समेत बताए । मन्त्री गुरुङले खेलकुद विकासका लागि मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै कुनै पनि महत्वपूर्ण खेलकुद कार्यक्रमका लागि मन्त्रालयले सहयोग गर्ने समेत उल्लेख गरे । उनले छोटो समयमा परिषदले गरेका कार्यक्रमहरुले समेत खेलकुद विकासका लागि महत्वपूर्ण रहेको जनाए ।
https://www.facebook.com/PokharaSportsOfficial/videos/535725875368270
सो अवसरमा बोल्दै मन्त्रालय सचिव हेमराज सुवेदीले प्रदेश खेलकुदले यस आर्थिक वर्षमा महत्वपूर्ण कार्यक्रमहरुले खेलकुद विकासलाई गति दिन सहयोग पुग्ने बताए । यस आर्थिक वर्ष करिव ६० प्रतिशत बजेट खर्च हुनु उपलब्धि मुलक रहेको बताउँदै उनले बाँकी कार्यक्रमहरु यथासिघ्र सम्पन्न गरी शतप्रतिशत सफलता हासिल गर्न आग्रह गरे ।
परिषदका सदस्य सचिव घनश्याम पौडेलको सहजिकरणमा भएको बैठकमा प्रदेश खेलकुद संघ गठन, प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता तथा मुख्यमन्त्री कप भलिबल प्रतियोगिताको समिक्षा, वार्षिक कार्यक्रम सञ्चालन गर्ने सम्वन्धमा विभिन्न निर्णयहरु समेत गरेको छ ।
बैठकले प्रदेश खेलकुद विकास विधेयक २०७७ र नियमावलीमा देखिएका समस्याहरुको बारेमा सुझाव संकलन गरी पेश गर्न परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको संयोजकत्वमा पाँच सदस्यि समिति गठन समेत गरेको छ । समितिमा कार्यकारी सदस्यद्वय दिल बहादुर गुरुङ र तारामायाँ थापा मगर, परिषदका सदस्य केशव पाठक तथा गण्डकी विश्वविद्यालयका प्राध्यापक डा. मधुसुदन सुवेदी रहेका छन् ।
बैठकमा प्रदेश खेलकुदका कार्यालय प्रमुख तोपलाल भुसाल, लेखा प्रमुख निलकण्ठ ढकालले समेत बोलेका थिए ।