यूएई विरुद्ध नेपालको सानदार जित, ओडिआई मान्यता कायम राख्यो

पोखरा स्पोर्टस । आईसीसी विश्वकप लिग टू को अन्तिम त्रिकोणात्मक सिरिजमा नेपालले सानदार जित निकालेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आइतबार सम्पन्न खेलमा घरेलु टोली नेपालले यूएईलाई १ सय ७७ रनले हराउँदै सानदार जित निकालेको हो । २ सय ४९ रनको विजयी लक्ष्य पछ्याएको यूएईले २२.५ ओभरमै अलआउट हुँदै ७१ रनमात्र जोड्न सक्यो । नेपालका लागि ललित राजवंशीले पाँच विकेट लिँदै नेपालको जितमा महत्वपूर्ण योगदान दिए । सदावहार बलर सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र गुल्शन झाले एक/एक विकेट लिए ।

यता यूएईका आर्यान अफ्जल खानले ३३ बलमा २९ रन बनाउँदा अश्वान्थ भलथपाले २२ बलमा १४ रन जोडे । यस्तै, कार्तिक मयिप्पनले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ४८ रन जोड्यो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७७ रनको योगदान दिएका थिए । १ सय १२ बल खेलेका उनले ९ चौका प्रहार गरे । यस्तै, आरिफ शेखले ५२ बलमा ४३ रन जोड्दा, ३२ बल खेलेका गुल्शन झा ३ छक्का र १ चौकाको मद्दतमा ३७ रन जोडेर आउट भए । यसैगरी दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रन जोडे भने गरी भीम शार्कीले ३७ बलमा २९ रनको योगदानी दिए ।

यूएईका रोहन मुस्ताफा, जवार फरिद, आर्यान अफ्जल खान र जहुर खानले दुई–दुई विकेट लिँदा आर्यान लाक्रा, जुनैद सिद्दीकीले एक/एक विकेट लिए ।

यूएईमाथि १ सय ७७ रनको कीर्तिमानी जित हात पार्दै नेपालले आगामी चार वर्षको लागि ओडीआई मान्यता पक्का गरेको छ ।

यता यूएई नेपालसँग पराजय भए संगै सोझै ओडीआई मान्यता बचाउने अवसरबाट बञ्चित भएको छ । यो नतिजासँगै नेपालले लिग २ मा शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता प्राप्त गरेको छ ।

अब नेपालले बाँकी दुवै खेल जितेको खण्डमा सोझै विश्वकप छनोट खेल्न पाउनेछ । त्यस्तै एक खेलमा पराजित भएमा नेपालले प्लेअफ क्वालिफायर खेल्नुपर्ने हुन्छ । नेपाल ३४ खेलमा १७ मा जित र १५ मा हारसहित ३६ अंकका साथ चौंथो स्थानमा रहेको छ । यूएई ३४ खेलमा १४ मा जित र १७ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढ्नुहोस्
Close
Back to top button
Close
Close