राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन : जेशिकाले हराइन राष्ट्रिय च्याम्पियन रशिलालाई

पोखरा स्पोर्टस । राष्ट्रिय च्याम्पियन एवं विश्व बरियतामा उच्च स्थानमा रहेकी आर्मीकी रशिला महर्जनलाई पराजित गर्दै एपिएफकी जेशिका गुरुङ्ग इटहरीमा जारी प्रथम मुख्यमन्त्री राष्ट्रिय र्‍याङ्किङ्ग खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७९ को महिला एकलतर्फ फाईनल प्रवेश गरेकी छिन् ।

जेशिकाले रशिलालाई १८–२१, २१–१६, २१–१३ ले पराजित गर्दै उपाधीका लागि आर्मीकी अमिता गिरी संगको भेट पक्का गरेकी हुन्् । गिरी र कस्तुरी कलेजकी सिमा राजबंशीविच भएको खेलमा सिमा रिटायर्ड हर्ट भए पश्चात गिरीले फाईनल यात्रा तय गरेकी हुन् । पहिलो सेट ६–२१ ले पराजित भएकी सिमा दोश्रो सेटमा १८–१२ को अग्रता लिईरहेको अवस्थामा घुँडामा चोट बोक्न पुगि रिटायर्ड भएकी थिईन् ।

सुनसरी जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकल तर्फ त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहाल फाईनल प्रवेश गरेका छन् । प्रफुलले आज सम्पन्न सेमीफाईनलमा पुलिसका बिष्णु कटुवाललाई २१–११, २५–२३ ले पराजित गर्दै उपाधीका लागि पुलिसका प्रिन्स दाहाल संगको भेट पक्का गरेका हुन् । बिश्व बरियतामा जुनियर तर्फ पहिलो नम्बरमा रहिसकेका प्रिन्सले आर्मीका रुकेश महर्जनलाई २१–१४, २१–९ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

पुरुष युगल तर्फ आर्मीका प्रफुल मजर्हन र रुकेश महर्जनको जोडीले उपाधीका लागि पुलिसका प्रिन्स दाहाल र बिष्णु कटुवालको जोडी संग प्रतिस्पर्धा गर्ने भएका छन् । महर्जन जोडीले पुलिसका दीपक बोहरा र सुनिल जोशीको जोडीलाई २१–१४, २१–८ ले पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । यस्तै प्रिन्स र बिष्णुको जोडीले पुलिसका जीवन आचार्य र एपिएफका बिजीत थापा मगरको जोडीलाई २१–१६, २१–१८ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् ।

महिला युगल तर्फ आर्मीका अमिता गिरी र रशिला महर्जनको जोडी फाईनल प्रवेश गरे । गिरी र महर्जनको जोडीले झापाकी अन्जना राई र धनकुटाकी अरुणा तामाङ्गको जोडीलाई २१–१४, २१–९ ले पराजित गर्दै उपाधीका लागि एपिएफकी जेशिका गुरुङ्ग र सुनयना मुखियाको जोडी संगको भेट पक्का गरेका छन् । जेशिका र सुनयनाको जोडीले एपिएफकी शोभा गौचन र पुलिसकी निता लम्सालको जोडीलाई २१–१९, १७–२१, २६–२४ ले पराजित गर्दै फाईनल प्रवेश गरेका हुन् ।

भेट्रान ४५ बर्ष माथिको स्पर्धामा सागर फिडका भजनलाल चौधरी र श्याम लामाको जोडी र स्पोर्टस् हवका सन बहादुर साम्बा र लाक्पा शेर्पाको जोडी फाईनल प्रवेश गरेका छन् । चौधरी र लामाको जोडीले ते¥हथुमका गोपाल खपाङ्गी र मदन लिम्बुको जोडीलाई २१–१३, २१–१८ तथा साम्बा र शेर्पाको जोडीले दीपक आङ्गदम्बे र बिकास श्रेष्ठको जोडीलाई २१–१५, २१–१९ ले पराजित गर्दै उपाधी भिडन्त पक्का गरेका हुन् ।

भेट्रान ५५ बर्ष माथिको खेलमा सुनसरीका गणेश राई र भोजपुरका दान बहादुर तामाङ्गको जोडीले मोरङ्गका कुमार घले र सुनरीका भोज राज रखालको जोडीलाई २१–१६, २१–१३ ले र गुहाटीका बास्तव नियोग र धादिङ्गका बिष्णु लाल श्रेष्ठको जोडीले २१–१०, २१–११ ले पराजित गर्दै उपाधीका लागि भेट पक्का गरेका छन् ।

छात्र यु ११ तर्फको खेलमा एपिएफका आरुष सिमखडा र भोजपुरका तयाबुङ्ग राई फाईनल प्रवेश गरेका छन् । यस्तै छात्रा तर्फ भोजपुरका रितु तामाङ्ग र कास्कीकी निभा राई पनि फाईनलमा स्थान बनाउन सफल भए ।

यु १३ छात्र तर्फ एपिएफका आरुष सिमखडा र आर्मीका रिजन मगर तथा छात्रा तर्फ आर्मीकी रिहाना शेरचन र टिशा रानी शाक्य उपाधी निकट पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close